डा. एन्थोनी फाउची, फाइल तस्वीर ।
क्रिसमस जति नजिकिंदै आएको छ, कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रासले विश्वलाई नै त्रसित बनाएको छ । यसैसन्दर्भलाई लिएर क्रिसमसमा हुने भीडभाडले ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण तीव्र हुने डा. एन्थोनी फाउचीले चेतावनी दिएका छन् । डा. फाउचीले यो पनि भनेका छन् कि ‘खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि क्रिसमसको समयमा ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण बढ्ने उच्च जोखिम रहेको छ ।’


सङ्क्रामक रोक विशेषज्ञ डा. फाउचीले एनबीसी टेलिभिजनको मीट द प्रेससँग ‘ओमिक्रोनको संक्रमण फैलिने सम्भावना निकै रहेकोमा कुनै शंका छैन । ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ’– भनेका छन् । पचासभन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ‘ओमिक्रोन’ निकै सङ्क्रमण रहेको प्रारम्भिक तथ्यहरुले देखाएको छ । सङ्क्रमण रोक्नका लागि विभिन्न देशहरुले कडा लकडाउनदेखि प्रतिबन्धात्मक नियम कडा बनाउँदै लगेका छन् । नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ । फ्रान्स तथा जर्मनीसहित युरोपेली देशहरुले यात्रामा प्रतिबन्ध लगाएका छन् ।


हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको सङ्क्रमण रोक्न वा कम्तिमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ । सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् । पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तिमा गम्भीर बिरामी हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ ।

यता अमेरिकामा पनि पछिल्लो दिनमा ‘ओमिक्रोन’ को सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ, विशेषगरी खोप नलगाएका व्यक्तिहरुमा कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र देखिएको छ । ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणले अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पार्ने डा. फाउचीले आइतबारको टेलिभिजन अन्तर्वार्ताको क्रममा चेतावनी दिंदै उनले भनेका छन्, ‘अहिले जस्तो देखिएको छ, सोही अवस्था कायम रहेमा हाम्रा अस्पतालहरु तनाव आउने छन् ।’

डा. फाउचीले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने (योग्य भएको अवस्थामा बूस्टर मात्रा) सहितका सावधानी अपनाउन आग्रह गरेका छन् ।