धनगढी– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा भएको विभत्स हत्या भएको घटनामा संलग्न व्यक्तिहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । पच्चीस वर्षीय युवक अरुण दासको विभत्स हत्या कसरी र कोबाट भयो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गर्नेक्रममा फोन रेकर्ड भेटिएपछि अरुणको हत्यामा संलग्न पाँच जना व्यक्तिको पहिचान खुलेको हो ।

अरुणको हत्या भएपछि दुई युवाबीच भएको फोन सम्वादको रेकर्ड सार्वजनिक भएपछि त्यसकै आधारमा हत्यामा संलग्न पाँच जनाहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । ‘घाँटी अलग छ, शरीर अलग छ । तपाईं एक–दुई दिनमा थाहा पाउनुहुन्छ’ मनोजले फोन रेडर्कमा भनेका छन् ।

प्रहरीका अनुसार मनोजले नेपालगञ्जको रुपैडिया नाका हुँदै भारत गइरहेको पनि मोबाइल फोनमा भनेका छन् । दासको विभत्स ढङ्गले हत्या गरिएको छ । उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि घाँटी रेटेर टाउको छिनाली हत्यागरिएको प्रहरीले बताएको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि घटनास्थल पुगेको थियो । प्रहरी प्रमुख अधिकारीले हत्यामा संलग्न ५ जनाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको बताएका छन् ।
कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले भन्नुभयो ‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं, घटनाको अनुसन्धान भइरहेको छ । शङ्कास्पद व्यक्ति माथि अनुसन्धान बढाएका छौं । डग स्निफिङ पनि गराइएको छ।’

स्थानीयहरुका अनुसार हत्या गरिएका अरुण दासका बुवा, आमा र दाइ रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । जानकी गाउँपालिकामा हत्या गरिएका दाससहित उनकी श्रीमती, छोरी र भाउजु बस्दै आएका थिए । अरुण दासको हत्या किन र केका लागि गरिएको हो भन्ने थाहा हुन सकेको छैन । फरार अभियुक्तहरु समातिएपछि हत्या गर्नुको कारण थाहा हुने प्रहरीले जनाएको छ ।