काठमाडौं– नेदरल्याण्ड्स सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमणको खतरा बढेको भन्दै लकडाउन गर्ने भएको छ । नजिकिँदै गरेको क्रिसमसको समयमा मानिसहरुको ठूलो भिड हुने हुँदा ‘ओमिक्रोन’ को सङ्क्रमण बढ्न सक्ने भन्दै नेदरल्याण्ड्सले लकडाउन कडा बनाउने निर्णय गरेको हो ।
नोभेम्बरको अन्तय तिर अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वभर फैलिएको हुनसक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले यस अघि नै सचेत रहन आग्रह गर्दै चेतावनी दिएको थियो । हाल विश्वका ८५ भन्दाधेरै मुलुकहरुमा ‘ओमिक्रोन’ को सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । यसैकुरालाई मध्यनजर गर्दै नेदरल्याण्ड्समा कडा लकडाउन लागु गरिएको छ ।

त्यहाँ अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु आउँदो जनवरीको मध्यसम्म बन्द हुने समाचारमा जनाइएको छ । घरमा मात्रै दुईजनासम्म पाहुन आउन पाउने छन् । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने जनाइएको छ ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले लागु गरिएका कुनै पनि नियम उल्लङ्घन गर्न नपाइने बताएका छन् । नयाँ नियम आइतबारदेखि लागु भएको हो । हालसम्मकै धेरै उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएको हुँदा युरोपका अधिकाङ्श मुलुकहले प्रतिबन्धात्मक नियम लागु गरेका छन् ।
हालको खोपकै बूस्टर मात्राले ओमिक्रोनविरुद्ध कम्तिमा गम्भीर बिरामी हुनबाट रोक्नेगरी काम गर्ने प्रारम्भिक अध्ययनहरुले देखाएका छन् । तर प्रभाकारिताबारे विश्वसनीय आधारका लागि थप अध्ययनको खाँचो रहेको वैज्ञानिकहरुले बताएका छन् ।