काठमाडौं – बङ्गलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बङ्गलादेश समान सात अङ्क जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेर फाइनल नजिक पुगेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरिन् । मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् । मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

नेपालसँग पराजित भएपछि चार खेलबाट तीन अङ्क मात्र रहेको भुटान फाइनल होडबाट बाहिरिएको छ । यस्तै श्रीलङ्का पनि बाहिरिसकेको छ । नेपालले अब लिगको अन्तिम खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ । नेपालले यसअघि बङ्गलादेशसँग बराबरी खेल्दा श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । भारत ३ मध्ये २ खेल जित्दै ६ अङ्क जोडेर तेस्रो स्थानमा छ ।