काठमाडौं – चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख देखिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो अवस्थामा देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तीय सूचकहरु सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिति निकै नै डरलाग्दो अवस्था ओरालो लागेको देखाएका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ४ महिनामा शोधनान्तर घाटा अहिलेसम्मकै उच्च भएको छ । यस अवधिमा शोधनान्तर घाटा १ खर्ब ५० अर्ब पुगेको छ । असोज मसान्तसम्म शोधनान्तर घाटा ७६ अर्ब १४ करोड रहेको थियो। यसरी पछिल्लो एक महिनामा नै शोधनान्तर घाटा दोब्बरभन्दा बढीले बढेको छ। चालू आर्थिक वर्ष लागेसँगै उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

गत असार महिनामा १ अर्ब २३ करोड शोधनान्तर वचत रहेको थियो । तर, असार महिनापछि निरन्तर रुपमा घाटामा गएको छ । साउनमा ३८ अर्ब ७५ करोड घाटा पुगेको थियो भने भदौमा ८३ अर्ब ४१ करोड र असोजमा ७६ अर्ब १४ करोड घाटामा रहेको थियो । पछिल्लो एक महिनामै शोधनान्तर घाटा ७४ अर्ब २४ करोडले रुपैयाँ भएको छ । त्यस्तै रेमिटेन्सले धानेको देशमा कात्तिक महिना रेमिटेन्स पनि ७ दशमलव ५ प्रतिशतले घटेको छ । चालू वर्षको सबैभन्दा कम रेमिटेन्स कात्तिकमा भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार रेमिटेन्स ७३ अर्ब १० करोडमात्र भित्रिएको छ । रेमिटेन्स ७ दशमलव ५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।

चालू आर्थिक वर्षको सुरुवातसँगै रेमिटेन्स पनि घट्न थालेको हो। गत आर्थिक वर्षको असार महिनामा ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको रेमिटेन्स चालू आर्थिक वर्ष लागेपछि निरन्तर घट्दै आएको छ । रेमिटेन्स साउनमा ७५ अर्ब ९६ करोड र भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको थियो। असोज महिनामा केही सुधार भएको थियो । यसरी सुधार भएर असोजमा ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । तर कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रेमिटेन्स भित्रिएको छ । गत कात्तिकमा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भित्रिएको थियो ।

त्यस्तै राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चितीसमेत घटेर दुई वर्षयताकै न्यून अवस्थामा पुगेको छ । कात्तिक महिनामा विदेशी सञ्चिती १२ खर्ब ४४ अर्बमा रहेको छ । चालू आर्थिक वर्षको बीचमा आएर विदेशी सञ्चिती १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो। सरकारले सञ्चितीमा रहेको पैसाले एक वर्षको लागि पुग्ने आँकलन गरेको थियो । तर पछिल्लो महिनादिनमै सञ्चिती ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको राष्ट्रको वित्तीय विवरणले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय भइरहेको उच्च आयात तथा घट्दो रेमिटेन्सका कारण विदेशी सञ्चिती घट्दै गएको देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम महिनाको असार मसान्तमा अमेरिकी डलरको सञ्चिती ११ अर्ब ७५ करोड रहेको थियो। चार महिनाको अन्तरालमा अमेरिकी डलरको सञ्चितीमा १०.९ प्रतिशतले कमी आएको छ। यसरी १०.९ प्रतिशतले कमी आएर अहिले १० अर्ब ४७ करोडमात्रै अमेरिकी डलरको सञ्चिती कायम रहेको छ । त्यस्तै चालू आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ७ दशमलव ९ महिनाको वस्तु आयात र ७ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो एक महिनामा मात्रै ५१ करोड अमेरिकी डलरले विदेशी सञ्चिती घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असोजमा सरकारसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिती थियो । राष्ट्र बैंकले अहिले भएको डलर सञ्चितीले ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने लक्ष्य राखेको छ ।

नेपाली मुद्रामा डलर सञ्चिती असोजको तुलनामा कात्तिकमा ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिती कात्तिकमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमात्रै रहेको छ । चालू खाताको घाटा पनि एक महिनाकै बीचमा साढे ७१ अर्बले बढेको छ । असोजमा १ खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालू खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा नै आयात १ खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा १ महिनामै १ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।