ढाका– बङ्खलादेशमा सञ्चालन भैरहेको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटानबीच आज भिडन्त हुँदैछ । अघिल्ला दुई खेल मध्ये बङ्गलादेशसँग बराबरी र श्रीलङ्कामाथि ६–० गोल अन्तरको जित निकाल्दै ४ अङ्क जोड्दै उपाधि यात्राको लक्ष्य लिइराखेको छ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ । बङ्गलादेशको राजधानी ढाकामा नेपाली समय अनुसार साँझ पौने ७ बजे यी दुई चिरपरिचित प्रतिद्वन्द्वी टिमबीच प्रस्तिस्पर्धा हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले फाइनल प्रवेशको लागि आज कुनैपनि हालतमा भुटानलाई हराउनु पर्ने बाध्यता छ ।


यद्यपि, भुटान पनि आजको खेलमा नेपालसँगको पराजित भएमा उपाधिको होडबाट बाहिरिने छ । सार्क मुलुकका पाँच टोलीमात्र सहभागी यस प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि फाइनलमा भिड्ने छन् । प्रतियोगितामा लगातार दुई खेल जितेको भारत छ अङ्कसहित शीर्ष स्थानमा छ । चार/चार अङ्क जोडेको बङ्गलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ । लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलङ्का एक खेलअघि नै बाहिरिसकेको छ । पहिलो खेलमा श्रीलङ्कालाई ५–० गोल अन्तरले पराजित गरेको भुटान दोस्रो खेलमा भने बङ्गलादेशसँग ६–० गोलको फराकिलो गोलले हारेको थियो । खेलको समीकरणलाई हेर्दा नेपालले भुटानलाई हराउने देखिन्छ । नेपाललाई भुटानलाई १–० गोलको अन्तरले हराएमात्रै पनि नेपाल उपाधि होडमा पुग्ने छ । पछिल्लो खेलमा नेपालले सुधारिएको खेल खेलेको हुँदा आजको खेलमा नेपालले बाजीमार्ने सम्भावनालाई नकार्न सकिन्न ।