मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए ।

प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनुअघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रुपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

मेनडोजा सन् २००५ मा रिलिज भएको फिल्म ‘ला मेरा रेना डेल सुर’ को प्रदर्शनपछि चर्चामा आएकी थिइन् । पाँचवटा साङ्गीतिक एल्बम सार्वजनिक गरेकी उनले दर्जनौं ओपेरामा प्रस्तुती दिइसकेकी छन् ।

सन् २०१० मा अज्ञात समूहले उनी र उनका पतिसहित ६ महिने छोरालाई अपहरण गरेका थिए । त्यसपछि उनले मोरिलोस स्टेट अटर्नी जनरल कार्यालयमा आफूलाई ज्यानको धम्की आइरहेको भन्दै निरन्तर अपिल गरिरहेकी थिइन् । उनको हत्यामा कसको संलग्नता थियो भन्ने अझै खुल्न सकेको छैन । –न्युज कारखाना