प्योङयोङ – उत्तर कोरियामा किम जोङ उनको शासनकालको उदय भएको एक दशक पूरा भएको छ । यसबीचमा उत्तर कोरियाले हात हतियार उत्पादनमा विशेष जोड दिंदै आएको छ । पहिलेभन्दा धेरै हतियार भण्डारण गरेको छ । जसरी हतियारमा शक्तिशाली देखिंदै गएको छ, त्यति नै उ एक्लिएको अवस्थामा पुगेको छ । त्यसैले उत्तर कोरिया चीनमा पनि सर्वाधिक निर्भर बन्न पुगेको छ ।

तुलनात्मक कम उमेरका किमले बारम्बार आर्थिक बदलाव ल्याउने र अन्तर्राष्ट्रिय रुपमा खुल्ने आशा जगाइरहेको भए पनि यो दश वर्षमा उनले सोचेजस्तो प्रगति गर्न सकेनन् । तर किमले प्रयास चाहिँ गरेकै हुन् भन्न सकिन्छ ।

किम शाषनको पहिलो दश वर्षलाई उनको आणविक हतियारतर्फको रुचीले पनि स्पष्ट पार्दछ । तर विश्लेषकहरुका अनुसार उनको यहि मार्गले उनलाई एकदमै एक्लो पारिदिएको छ र हालसम्मकै कठिन चुनौतिहरुको सामना गर्न छाडिदिएको छ ।

उत्तर कोरियामा आवश्यक आर्थिक सुधारका लागि चाहिने उल्लेखनीय राजनीतिक सफलता हासिल गर्न तिनै हतियार बाधक बनिरहेको अवस्था छ । देशका लाखौँ जनतालाई भोकभोकै रहनबाट जोगाउन र हालको महामारी अवस्थाले पनि किमलाई चीनमाथि बढी नै निर्भर बनाइदिएको छ ।

उनले आफ्ना पिता र हजुरबुवा भन्दा फरक शैलीमा शासन गरे । उत्तर कोरियालाई सामान्यीकरण गर्ने प्रयास गरे, आणविक हतियारहरु मार्फत अन्तर्राष्ट्रिय रुपमा सम्मानित तुल्याउने कोशिश पनि गरे, ठुल्ठुला विदेशी नेताहरुसँग सम्मेलनमा भाग लिए, सर्वसाधारणप्रति सद्भावना प्रकट गर्न खोजे, आफ्ना गलती सामु पारदर्शी भइ पहिलोपटक सार्वजानिक रुपमा माफी समेत मागे ।
तर कुनै तरिकाले पनि उनलाई लक्ष्यको नजिक पुग्न मद्दत मिलेन ।

नेदरल्यान्ड्सको लेइडेन युनिभर्सिटीका कोरिया विश्लेषक, क्रिस्टोफर ग्रिन भन्छन्, “मेरो विचारमा साधारण उत्तर कोरियालीहरुका लागि किमको शासन सुरुवाती वर्षहरुमा एक पलको आशा समान मात्र रह्यो । र पछि गएर कठोरतामै अल्झियो । ”

यस्तोमा किमले आगामी दिनहरुमा प्रतिबन्धबाट राहत पाउनका लागि या त कुनै हतियार त्याग गर्नुपर्ने हुन्छ नत्र अर्थतन्त्रलाई अघि बढाउन अरु नै तरिका खोजी गर्नुपर्ने हुन्छ । जस्तै चीनसँग महत्वपूर्ण सम्बन्ध स्थापना गर्न सकिन्छ ।

महामारीले पुर्याएको क्षतिपछि नियन्त्रित खुलापनका लागि आफ्नै शासनका वरिष्ठहरुले माग गर्न सुरु गर्न सक्छन् । तर अन्तर्राष्ट्रिय परिस्थितिलाई उत्तर कोरियाको पक्षमा पार्न धेरै चुनौतिमय हुनेछ ।

किमको शासनकालमा उत्तर कोरियाले ६ मध्ये चारवटा आणविक हतियारको परीक्षण गर्यो । जसमध्ये पहिलोपटक हाइड्रोजन बम पनि रहेको थियो भने अर्को एउटा चाहिँ अमेरिकासम्म पुग्न सक्ने लामो रेन्जको मिसाइल थियो ।

यसकारण पनि किमका लागि हतियार नै सबैभन्दा मूल्यवान् कुरा बनेको छ जसले उत्तर कोरिया र उनको शासनलाई बाहिरी खतराबाट सुरक्षित राख्नेछ । तर यही आत्मविश्वासले २०१७ मा उत्तर कोरियालाई झन्डै अमेरिकासँग युद्धको स्थितिसम्म पुर्यायो । त्यसबेला यसका पार्टनर चीन र रुसले समेत संयुक्त राष्ट्र संघको प्रतिबन्ध स्वीकृत गर्नुपरेको थियो ।

तर प्रतिबन्ध मुक्त हुने किमको प्रयासले यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग अप्रत्याशित र ऐतिहासिक सम्मेलन दिलायो । बैठक सफल नभएपनि उत्तर कोरियाका लागि यो धेरै ठूलो उपलब्धी हो । यसरी किमले अझैपनि आणविक रणनीति अपनाएर कठोर खेल खेल्न जारी राख्ने पक्का छ । यस्तोमा देशले आणविक हतियार अझ बढाउनेछ जसले प्योङयोङलाई विश्व समुदायसँग सम्झौता गर्न माथिल्लो हात दिलाउने किमको विश्वास छ ।

न्यु अमेरिकन सेक्युरिटीकी दुयुन किम भन्छिन्, “उनले आगामी दिनहरुमा आफ्नो व्यक्तिगत र देशको छविलाई सबै क्षेत्र, विशेषगरी आणविक र आर्थिक रुपमा सामान्य र आधुनिक नै देखाइरहन खोज्ने अपेक्षा गर्न सकिन्छ ।”

चीनसँगको सम्बन्धलाई भन्दा पनि आणविक हतियारलाई नै बढी प्राथमिकतामा राख्दाको भयानक परिणामलाई किमले तत्कालै बेइजिङ भ्रमणमा गएर सुधारेका थिए । यसरी अहिले उत्तर कोरिया अन्तर्राष्ट्रिय व्यापारका लागि केबल चीनमा मात्र सिमित बनेको छ । उत्तर कोरियालाई विविध समर्थक दिलाउने जोडदार कोशिशका वावजुद अझै लामो समय सम्म उत्तर कोरिया चीनमै भारी रुपमा निर्भर रहनुपर्ने देखिन्छ ।

तर जेजस्तो भएपनि किमको शासन कति प्रभावशाली रह्यो भन्ने कुरा साधारण जनताको जीवनस्तर बढाउन सक्ने क्षमताले नै निर्धारित गर्ने देखिन्छ । रोयटर्स