काठमाडौं – कोरोना भाइरस विरूद्धको एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार मात्रा खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ लाख ६७ हजार ६५० डोज खोप आएको बताउनु भएको छ ।

वरिष्ठ फार्मेसी अधिकृत थापाका अनुसार खोप युनिसेफमार्फत् नेपाल आइपुगेको हो । यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो । योसँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय मात्रा प्राप्त गरेको छ । विभिन्न कम्पनीको अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० मात्रा खोप आइसकेको छ ।