एजेन्सी – पछिल्लो समय बेलायतमा कोरोना सङ्क्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक सङ्क्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । बुधबार बेलायतमा ७८ हजार ६ सय १० जना नयाँ सङ्क्रमित थपिएका छन् । जुन महामारी सुरु भएयताकै धेरै हो । हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।

बेलायतभर नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमित समेत बढ्न थालेका छन् । निकै सङ्क्रामक मानिएको ओमिक्रोनका सङ्क्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले सङ्क्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् । कोभिड सङ्क्रमितको दैनिक संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेपछि बेलायती अधिकारीले सामाजिक जमघट गर्दा सतर्क हुन आग्रह समेत गरेका छन् । जोनसन र इङल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस विट्टीले मानिसहरूलाई अनावश्यक रुपमा भेला नहुन अपिल गरेका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जोनसनले रेष्टुरेन्ट र रक्सी पसल बन्द नगर्ने तर रेष्टुरेन्ट वा रक्सी पसलमा जाँदा सावधान हुन भनेका हुन् ।

नयाँ भेरियन्टका सङ्क्रमित बढिरहेका कारण दैनिक सङ्क्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाउन सक्ने समेत उनको चेतावनी थियो । त्यस्तै, प्राध्यापक विट्टीले तीव्र रुपमा फैलिइरहेको ओमिक्रोन र डेल्टा भेरियन्टका कारण मुलुकले एकैपटक २ वटा प्रकोप सामना गरेको बताए । ओमिक्रोन भेरियन्ट निकै तीव्र गतिले फैलिइरहेको र चाँडै नै संक्रमितको संख्या अत्यधिक हुने उनको भनाइ थियो । बेलायतमा हालसम्म ओमिक्रोनबाट १० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । यसमध्ये एकजना सङ्क्रमितको मृत्यु भएको छ ।