जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको हो ।

आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् । जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।

आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ । यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । त्यसपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।