दक्षिण अफ्रिका – बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन एक अदालतले आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो । जुमालाई स्वास्थ्यसम्बन्धी ‘पेरोल’मा राख्ने निर्णयलाई अदालतले ‘गैरकानुनी’ ठहर गर्दै बाँकी सजाय बिताउन पुनः जेलमा फिर्ता हुन उच्च न्यायालयका न्यायाधीश इलियास माटोजेनको फैसलामा उल्लेख छ ।

अदालतको बुधबारको फैसलाको केही घण्टाभित्रै जुमाका वकिलहरूले नयाँ अपिल दर्ता गरेका छन् । यस कदमको अर्थ जुमा अपिलको सुनुवाई नभएसम्म जेलमा फर्कने छैन । जुमाका कानूनी सल्लाहाकारले निवेदनमा अदालतको निर्णय ‘बिरामीको स्वास्थ्य सेवा, मर्यादा र अन्य मानव अधिकारको उचित वास्ता नगरेर क्रुर र अपमानजनक आदेश भएको बताइएको छ ।

७९ वर्षका पूर्वराष्ट्रपति याकोब जुमालाई अदालतको अवहेलना गरेको आरोपमा जुलाईमा १५ महिना जेल चलान गरिएको थियो । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले आफूमाथि लागेको भ्रष्टाचार मुद्दामा अनुसन्धानकर्तालाई साक्षी दिन नमानेपछि उनलाई जेल चलान गरिएको थियो । उहाँलाई जेल सजाय सुनाइएपछि पूर्व राष्ट्रपतिको गृह क्षेत्र, क्वाजुलु–नाटाल,मा हिंसात्मक विरोध तथा लुटपाट मच्चिएको थियो । उक्त विरोधको प्रभाब जुलाईमा जोहानेसबर्गमा फैलियो र त्यहाँ भएका झडपमा ३५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९९४ मा श्वेत–अल्पसंख्यक शासनको अन्त भएदेखि दक्षिण अफ्रिकामा यो सबैभन्दा घातक हिंसा थियो । वर्तमान राष्ट्रपति सिरिल रामाफोसाले उक्त अशान्तिलाई देशलाई अस्तव्यस्त बनाउने प्रयास भएको बताएको छ । विशेष भ्रष्टाचार विरोधी समितिद्वारा गरिएको जाँचको अलावा जुमालाई १९९९ मा पाँच युरोपेली कम्पनीबाट हतियार किन्ने सम्बन्धमा गरिएको भ्रष्टाचारको मुद्दामा पनि समावेश गरिएको छ । त्यतिबेला उपराष्ट्रपति रहेका जुमालाई फ्रान्सेली रक्षासम्बन्धी संस्था थेल्सबाट घूस लिएको आरोप लगाइएको छ । उनीमाथि १६ वटा ठगी, घूस र अपराधको अभियोग लगाइएको छ । रासस