कनकाई – झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा गए राति बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल राति एकापसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको थियो । मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।