काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रास्फीति दर ५ दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को चार महिनाको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय प्रस्तुत गर्दै वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति दर ५ दशमलव ३२ प्रतिशत रहेको बताएको हो । अघिल्लो आवको सोही महिनामा मुद्रास्फीति दर ४ दशमलव ०५ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात १०४ दशमलव ३ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४० दशमलव २ प्रतिशत, ७ दशमलव ३ प्रतिशत र २३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै चालु आवको पहिलो चार महिनामा कुल वस्तु आयात ६१ दशमलव ६ प्रतिशतले वृद्धि भई रु.६५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दशमलव१ प्रतिशत, ५६ दशमलव ९ प्रतिशत र ११७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले कमी आई रु. ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता रु. २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

विसं २०७८ असार मसान्तमा रु. १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव ० प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा रु. १२४४ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १० दशमलव ९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८÷७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ९ महिनाको वस्तु आयात र ७।२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।