जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद्हरुको अवरोधका बाबजुद पनि प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर शाहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।

अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच पनि अध्यादेश पेश गर्नुभयो ।

लोसपा सांसद परमेश्वर शाहले आफूहरुको विरोधका बाबजुद अध्यादेश पेश गरिएको बताउनुभयो । चलिरहेको प्रदेशसभालाई बन्द गरी अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको भन्दै उहाँले यसमा आफूहरुको विरोध रहिरहने बताउनुभयो ।

नाम र राजधानीको प्रस्ताव पेश भएन

बुधबार शुरु भएको प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । तर सभामुख सरोजकुमार यादवले यो प्रस्ताव यो बैठकको कार्यसूचीबाट हटाउनुभयो ।

मंगलबारको बैठकको कार्यसूचीको ४ देखि १० नम्बरसम्म प्रदेशको नामाकरण र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्ने उल्लेख गरिएको थियो । जसमा सांसद शैलेन्द्रकुमार यादव, भरत साह, प्रमोद यादव, शिवचन्द्र चौधरी, राजेश्वर प्रसाद साह र शारदादेवी थापाले प्रदेशको नामाकरणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यस्तै, कार्यसूचीको बुँदा नम्बर १० मा प्रदेशको राजधानी तोक्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । सभामुख यादवले अब प्रदेशसभाको बैठक आगामी पुस ८ गते बिहीबारका दिन बस्ने बताउनुभएको छ ।