काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंकमा देखिएको लगानी योग्य रकमको अभाव तथा सञ्चितिको चापलाई हेरेर अर्थमन्त्रालयले काम गरिरहेको दाबी गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा मन्त्री शर्माले अहिलेको समस्याको विषयमा सरकार जानकार भएको भन्दै त्यसका लागि पहल कदमी गरिरहेको बताउनुभयो ।

मन्त्री शर्माले राष्ट्र बैंकले डलरमा बचत खाता खोल्न सक्ने ब्यवस्थाले अहिलेको समस्याको दीर्घकालीन समाधानमा सहयोग पु¥याउने उल्लेख गर्नुभयो । उहाँले विदेशमा कम ब्याजमा वा बिना ब्याजमा राखिने पैसा गैर आवासीय नेपालीलाई डलरमा खाता खोलेर ब्याज लानसक्ने ब्यवस्था गरिएको बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले डलर खाताको सुविधाका विषयमा गैरआवसीय नेपालीहरुलाई जानकारी गराउनु पर्ने बताउनुभयो । यसले अहिलेको लगानी योग्य रकमको समस्या, सञ्चितिको चाप जस्ता समस्या समाधानमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।