काठमाडौं– कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण विश्वका अधिकाङ्श मुलुकहरुमा फैलिइसकेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) चेतावनी दिएको छ ।

अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण औपचारिक रुपमा ७७ देशमा देखापरिसकेको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका छन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई लिएर जति चनाखो वा सचेत हुनु पर्ने हो, त्यसपति त्यति सचेत नभएको भन्दै डा. गेब्रेयेसोसले चासो र चिन्ता व्यक्त गरेका छन् ।

झण्डै ५० वटा उत्परिवर्तन (म्युटेशन) भएर कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बनेको हो । यो भेरियन्ट यसअघिका भेरियन्टभन्दा बढी उत्परिवर्तित रहेकाले बढी सङ्क्रामक देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।

गत नोभेम्बरको अन्तिम साता यो ‘ओमिक्रोन’ भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । त्यहाँका राष्ट्रपति सिरिल सामाफोसा लगायत केही व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको थियो ।