मोहन वैद्य ‘किरण’ अध्यक्ष, नेकपा (क्रान्तिकारी माओवादी)


  

जीवन र शिक्षाः
वि.सं. २००३ साल साउन १५ गते प्युठानको खैरा भन्ने गाउँमा बुवा शशिधर उपाध्याय (पोखरेल) र माता जानका उपाध्यायका पहिलो सन्तानको रुपमा जन्मनुभएका नेपाली साहित्यमा स्नातकोत्तर मोहन वैद्य ‘किरण’ गहन अध्येता, विशिष्ट चिन्तक र वरिष्ठ समालोचक पनि हुनुुहुन्छ । पूर्वीय दर्शनका विशेष अध्येता र विश्लेषक मोहन वैद्य माक्र्सवादी विचार, दर्शन र चिन्तनबाट दीक्षित हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र नभै नेपाली साहित्यका पारखी वैद्यको विशेष रुचि भनेको दर्शन शास्त्र हो । मोहन वैद्यको पहिलेको नाम मोहनप्रसाद वैद्य हो । उहाँको थर पोखरेल हो तर, बाजे, बुबाहरु आयुर्वेदिक औषधोपचार गर्ने भएकाले वैद्य भनिन्थ्यो । त्यसपछि बाजे, बुबाहरु सबैको नामको पछाडि वैद्य लेख्न थालियो र मोहन वैद्य त्यसरी नै रहन गएको बताउनुहुन्छ उहाँ । मोहन वैद्य ‘किरण’ को प्रारम्भिक शिक्षा घरमै संस्कृत भाषाबाट थालनी भयो । स्थानीय विद्यालयबाट पूर्वमध्यमा पास गरेपछि उहाँ उच्च शिक्षा अध्ययनको लागि दाङ जानुभयो र २०२३ सालमा संस्कृतमा शास्त्री पास गर्नुभयो । ब्राम्हण त्यसमाथि पण्डित संस्कृतका ज्ञाता बुबाको छत्रछायाँमा हुर्कनुभएका किरणलाई दाङमा उच्चशिक्षा पढ्ने क्रममा साथीहरुको सङ्गतले कम्युनिस्ट बनायो । नेपाली कम्युनिस्ट आन्दोलनका अधिकांश शीर्ष नेताहरुले आफ्ना जीवनसङ्गिनीका रुपमा सहकर्मी महिला साथीहरुसँग लगनगाँठो कसे वैद्यले भने वि.सं. २०२८ सालमा मागी विवाह गर्नुभयो, अर्घाखाँचीकी सुष्मा आचार्यसँग । मोहन वैद्य किरणका लता, चेतना र सिर्जना गरी तीन छोरीहरु छन् ।


आफुले गरेका कामहरु सफलतापूर्वक अघि बढिराखेको बेला र पार्टी क्रान्तिको सफलताको अवस्थामा गैरहँदा बढी सुखानुभूति भएको बताउनु हुने मोहन वैद्य जनयुद्धले धक्का खाँदा र जनयुद्धको उद्देश्यलाई परिणाममुखी बनाउन नसकेकोमा दुःख लागेको बताउनुहुन्छ । मोहन वैद्य राजनीति नेता मात्र नभै साहित्यिक सौन्दर्यका सर्जकका रुपमा पनि स्थापित हुनुहुन्छ । प्रेम र जीवनको सन्दर्भमा वैद्य भन्नुहुन्छ – “मानव जातिको इतिहासमा प्रेम भन्ने चिज असाध्यै महत्वपूर्ण र अनिवार्य चिज हो । प्रेम भनेको एउटा भावनात्मक आकर्षण हो । हरेक चिजको सम्बन्धलाई एउटा भावनात्मक बनाउने काम प्रेमले नै गर्दछ । तर जीवन सङ्घर्षको यात्रा हो । जीवन भनेको अन्तर्विरोधले युक्त सङ्घर्षको यात्रा हो । यद्यपि, जीवन लोकमय छ ।”


राजनीति यात्रामा मोहन वैद्यः
नयाँ विषय वस्तुको अध्ययन गर्न रुचिराख्नु हुने किरणलाई विस्तारै कम्युनिजम्को सिद्धान्तले आकर्षित गर्दै लग्यो । कम्युनिस्टको सिद्धान्त, वैज्ञानिक समाजवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको बारेमा साथीहरुबाट जान्ने बुझ्ने सिक्ने अवसर जु¥यो । विद्यार्थी कालमा दाङबाटै कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो–मोहन वैद्य । वि.सं. २०२१ सालबाट आफु पूर्ण रुपमा कम्युनिस्ट पार्टीमा लागेको बताउनु हुन्छ–वैद्य । वर्गीय दृष्टिकोणले निम्नमध्यम वर्गको भएकाले पनि अन्याय अत्याचार विरुद्ध, शोषक सामन्तका विरुद्ध लड्नुपर्छ भन्ने भावना जागृत भयो । त्यसोतः प्युठान जिल्लालाई कम्युनिस्टको उर्भर भूमि मानिन्छ । मोहन विक्रम सिंह, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा जस्ता नेताहरु उत्पादन गर्ने थलोको रुपमा लिइन्छ प्युठान जिल्लालाई । साथीभाइहरुको सङ्गत, वर्गीय दृष्टिकोण, सिद्धान्त र विचार राम्रो लागेकोले किरण कम्युनिस्ट बनेको बताउनुहुन्छ । रोमहर्ष धिताल, लोकमणि आचार्य, नारायण आचार्यजस्ता थुप्रै साथीहरु हुनुहुन्थ्यो दाङमा उहाँको सङ्गतका मिल्ने साथीहरु । प्युठानमा जन्मे हुर्केता पनि विद्यार्थी कालमा दाङ जिल्ला कमिटीले वि.सं. २०२१ सालमा उहाँलाई कम्युनिस्ट पार्टीको सदस्यता दियो ।


नेपाली कम्युनिस्ट आन्दोलनको एउटा ठूलो पार्टी दक्षिणपन्थी संशोधनवादको दिशातर्फ उन्मुख भएको कम्युनिस्ट पार्टी आस्था र भरोसा राख्ने नेपाली जनताले पनि महशुस गरेको कुरा हो । तर पनि जनतामा कम्युनिस्ट नाम लोकपृय छ । जनताले मन पराउँछन् । त्यसैकारणले ट्याक छोड्न सकेनन् तर सिद्धान्त छोडे । मुख्य कारण यही हो भन्नुहुन्छ मोहन वैद्य ‘किरण’ । नेपाली कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानलाई हेर्दा कम्युनिस्ट पार्टीहरु समय समयमा फुट्ने गरेका छन् । यो अत्यन्त दुखद् पाटो हो । पार्टी विभाजन हुनुको मुख्य कारण यही नै हो भन्न गाह्रो हुन्छ भन्नुहुन्छ । वैद्य भन्नुहुन्छ – “कुनै बेला नेतृत्वको टकरावले पनि काम गर्छ भने कुनै बेला सैद्धान्तिक टकरावले पनि पार्टी विभाजनमा काम गरेको हुन्छ । पुष्पलालले २०२५ सालमा नयाँ जनवाद पनि मान्ने, माक्र्सवाद, लेनिनवाद पनि मान्ने माओ विचारधारा पनि मान्ने पार्टी बनाए । जुन झापा विद्रोह भयो त्यो विद्रोह गर्नेहरुले पनि त्यही मान्ने । मोहन विक्रम सिंहजीले नेतृत्व गरेको चौंथो महाधिवेशनले पनि त्यही आदर्श, सिद्धान्त भन्ने । तर किन मिल्न सकेनन् त भन्ने प्रश्न पनि उठ्ला । हो, यस्तो अवस्थामा विभाजन देखिनु सायद नेतृत्वकै टकराव हो जस्तो लाग्छ । त्यसबेला यी कुरा मिलाउन नेताहरुले ध्यान नै दिएनन् । आ–आफैं ठूला भए, एक खालको दम्भ र एकदमै घमण्डीपन देखाए । नेताहरुले चाहेको भए त्यसबेला पार्टी चिराचिरा हुने थिएन भन्ने नै लाग्छ । त्यतिबेला हामीहरु (निर्मल लामाजी (चौथो महाधिवेशन), मोहनविक्रमजी (पातलो मसाल) र हामीहरु (मोटो मशाल ) फुट्नु पर्दैनथ्यो । नेतृत्वको दम्भकै कारणले पार्टी फुटको सङ्घारमा पुगेको हो ।”


वि.सं. २००६ सालबाट सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलन ७६ वर्षको सङ्घारमा पुगेको छ । यस बीचमा धेरै आरोह अवरोहरु झेल्दै आएको छ । टुटफुट, विभाजनकै विचबाट नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ । नेपालमा एउटै सिद्धान्त बोक्ने धेरै पार्टी छन् भन्ने हो भने कम्युनिस्ट पार्टी नै अग्रस्थानमा छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विवाद भनेको क्रान्तिकारी धारको कम्युनिस्ट र दक्षिणपन्थी संशोधनवादी धारको कम्युनिस्टहरुको बीचमा धेरै द्वन्द्व चलेको बताउँनुहुन्छ वैद्य । उहाँ भन्नुहुन्छ– “कहिले क्रान्तिकारी धार प्रभावित हुने त कहिले दक्षिणपन्थी संशोधनवादी धार प्रभावित हुँदै नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढेको अवस्था हो । पुष्पलालले जतिबेला कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो, त्यो राम्रो थियो । पछि बिस्तारै बिगँ्रदै गयो र तेस्रो महाधिवेशनसम्म आइपुग्दा भद्रगोल नै भयो । नेपाली कम्युनिस्ट आन्दोलनले विभाजनको पीडा भोग्नु प¥यो ।”


जनयुद्ध र झापा विद्रोहलाई तुलना गर्दै वैद्य भन्नुहुन्छ –“झापा विद्रोह ठूलो होइन । नेपाली माटो अलिक रुपान्तरण खोज्ने, कम्युनिस्टलाई माया गर्ने ह्वात्तै बढे । तर जनयुद्ध त धेरै हाइटको हो । राजनीतिक दृष्टिकोणले, फौजी दृष्टिकोणले, सांस्कृतिक दृष्टिकोणले, साहित्य र कलाको विकासको दृष्टिकोणले अनि दलित महिला आदिवासी जनजाति, मधेसी मुस्लिमलगायतका थुप्रै जनसमुदायका सहभागिताको दृष्टिकोणले अस्थायी मुलका आधार इलाकाहरुको दृष्टिकोणले, जन सरकारहरु बने विभिन्न ठाउँहरुमा । यी सबै दृष्टिकोणमा यत्रो सरकार सत्ता छोडाउने अवस्थामा पुग्यो । केवल राजधानीमात्रै बाँकी थियो । अरु सबै प्रायः कब्जा भएको अवस्था थियो । यो एउटा महान परिघटनामा एउटा गौरव लाग्ने विषय भनेको हामीले राम्रो काम गरेका छौं भनेर जनताको आम समर्थन, उत्पीडितहरुको सबैको समर्थन छ, त्यसैले जनयुद्ध प्रति गौरवान्वित भएको महसुस हुन्छ । लामो समयको अन्तरालपछि २०५२ सालमा जनयुद्धको प्रक्रिया अघि बढ्यो । कैयौं जनआन्दोलनहरु अत्यन्त महत्वपूर्ण ढङ्गले अगाडि बढेर गए । पछिल्लो समय कतिपय क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु फेरि दक्षिणपन्थी अवसरवादको भासमा फस्न गए ।

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धार पछि र दक्षिणपन्थी संशोधनवाद अगाडि छ, क्रान्तिकारी धार प्रभावित भएको छ, यो दुखद् कुरा हो” –भन्नुहुन्छ वैद्य । “फेरि यो पनि हो कि नेपाली जनतामा कम्युनिस्टप्रति ठूलोे आस्था छ । त्यसैले फेरी क्रान्तिकारी कम्युनिस्ट आन्दोलन धार फेरि पनि अगाडि बढ्छ भन्ने विश्वास छ”– भन्नुहुन्छ उहाँ । मोहन वैद्यको बुझाइमा ‘विश्व कम्युनिस्ट आन्दोलन ओझेलमा परेता पनि विश्व साम्राज्यवाद भित्रभित्रै खोक्रो बन्दै गएको अवस्था छ । उहाँ भन्नुहुन्छ– “यो एकाधिकार पुँजीवाद, मनोपुँजी र मुनाफा हो । सन् १८४८ बाट सुरु भएको कम्युनिस्टको इतिहास आज २०२१ सम्म आइपुग्दा २ सय वर्ष पनि पुगेको छैन । तर पुँजीवादको इतिहास धेरै लामो छ । इटलीबाट १६ औं शताब्दीबाट सुरु भएको पुँजीवाद ५/६ सय वर्षसम्म आइपुग्दा त सबै ठाउँमा फैलिन सकेको छैन भने २ सय वर्ष पनि नपुगेको कम्युनिजम्ले अहिले विश्वलाई तर्साइराखेको छ ।”


नेकपा मशालको नेतृत्व गर्नुभएका वैद्यले आफु पार्टीको महासचिव भएको बखत् युवाहरुलाई नेतृत्व गर्न उत्प्रेरित गर्नकै लागि आफुले पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्वमा लगेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “म आपूmमात्र नेतृत्वमा हुनुपर्छ भन्ने खालको मान्छे होइन, नयाँ युवाहरुलाई उत्साहित गरेर त्यसबेलाको सापेक्षतामा यौवन, योग्यता र क्षमताको आधारमा प्रचण्डलाई नेतृत्व गर्ने तहमा ल्याउन मैले उत्प्रेरणा दिएको हुँ । उहाँलाई नेतृत्वदायी ओहदामा ल्याउन मैले भूमिका खेलेकै हो ।”


फेरी केही समय पछि पार्टी एकता गर्नुपर्छ भनेर छलफल चलाए पछि मोहन वैद्यले नेतृत्व गर्नु भएको मोटो मशाल, निर्मल लामाले नेतृत्व गर्नु भएको चौंथो महाधिवेशन र मोहन विक्रम सिंहले नेतृत्व गर्नु भएको पातलो मसालबाट विद्रोह गरेर बाबुराम भट्टराईजीहरु आएपछि नेकपा (एकताकेन्द्र) गठन गरियो र २०४८ सालमा एकता महाधिवेशन सम्पन्न भयोे । त्यसपछि पार्टीले अब नेपालमा जनयुद्ध गर्नुपर्छ भन्ने लाइनलाई अनुमोदन ग¥यो । वैद्य भन्नुहुन्छ –‘‘नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ जीहरु क्रान्तिबाट डराएर भाग्नु भयो । पार्टीको लाइन नमान्ने साथीहरुलाई पार्टीले कारवाही गरेपछि उहाँहरुले नयाँ पार्टी गठन गर्नुभयो । हामीले जनवादी राज्य सत्ता स्थापना गर्नको निम्ति वि.सं. २०५२ साल फागुनमा जनयुद्ध सुरु ग¥यौं । जनयुद्ध देशव्यापी रुपमा फैलियो । जनताको हातमा राज्यसत्ता आउनु पर्ने हो, क्रान्ति सफल हुनुपर्ने थियो त्यो हुन सकेन ।

जनयुद्धको उद्देश्य अपेक्षाकृत रुपमा परिणाममुखी भएन । तैपनि गलत पक्षका विरुद्ध जुन आवाज उठाइएको छ, क्रान्तिको झण्डा उठाइएको छ, यसमा गौरव र खुसी हुनुपर्छ ।” उहाँ भन्नुहुन्छ– “खास गरिकन गणतन्त्र, संविधानसभा, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी समानुपातिकको नेतृत्व जस्ता कुराहरु जनयुद्धका उपलब्धी हुन् । तैपनि जे उपलब्धीहरु प्राप्त भयो त्यो जनयुद्धकै उपलब्धी हो । राजनीतिमा लागियो देश र जनताको मुक्तिको निम्ति सङ्घर्ष गरियो भन्ने आत्मसम्मान र गौरव हुन्छ । राजनीतिमा लागेर कुनै गल्ति गरियो भन्ने लाग्दैन ।”

नेपाली कम्युनिस्ट आन्दोलनमा आफुलाई कत्तिको सफल भएको ठान्नुहुन्छ भन्ने सन्दर्भमा वैद्य यसो भन्नुहुन्छ– “सफलता र असफलताको कसी त विभिन्न हुने गर्दछन् । जनयुद्धले चाहेको उद्देश्य पूर्णरुपमा प्राप्त हुन नसकेता पनि आंशिक रुपमा प्राप्त भयो । तर पनि जनयुद्धमा गरिएको बलिदान, वीरता र त्यागको पाटो ज्यादै महत्वपूर्ण र ठूलो छ । जनयुद्धमा सहादत ठूलो संख्यामा भयो । धेरै योद्धाहरु बेपत्ता पारिए । अझ जनमुक्ति सेनाका योद्धाहरुले दश वर्षसम्म लडे, सहादत प्राप्त गरे, घाइते भए, अपाङ्ग भए, कति बेपत्ता पारिए । यत्रो क्षति भयो, तर पनि एउटा करुणा तिर होइन कि एउटा वीरता र साहसको भावले हेर्दा जनयुद्ध महान उपलब्धी हो । यही जनयुद्धको जगमा देशबाट २ सय ३८ वर्षे राजतन्त्रको अन्त्य पनि भयो । देशमा गणतन्त्र स्थापना भयो । संविधानसभाको निर्वाचन भयो । माओवादी पहिलो पार्टी बन्यो । त्यसपछि हिजो जनयुद्धको लाइनबाट भागेका साथीहरु चारहात खुट्टा फालेर एकता गर्न आउनु भयो । त्यो नैनिकता होइन । लड्ने बेला भाग्ने र खानेबेला आउने । यसै सोच र प्रवृत्तिले नेपाली कम्युनिस्ट आन्दोलन धरापमा पर्दै आएको छ । त्यसकारण नेतृत्व गर्ने नेताहरु सिद्धान्तनिष्ठ हुनुपर्दछ ।”


जनयुद्धमा होमिदाको अनुभव सुनाउँदै वैद्य भन्नुहुन्छ –“जनयुद्धमा योजनावद्ध ढङ्गले लागिएको थियो, विस्तारै जनुयद्धले आफ्नो पकड जमाउँदै र सफल हुँदैगयो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा र जनवादी आन्दोलनको इतिहासमा पनि एउटा अद्वितीय परिर्वतन आयो । हिजो जनयुद्ध लडेका साथीहरु आज निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी संशोधनवादको लाइन तिर लाग्नु भयो । उहाँहरुले जनयुद्धको मर्म र सर्वहारा प्रवृत्तिलाई पचाउन सक्नुभएको रहेनछ भन्ने कुरा एमालेसँगको पार्टी एकताबाट प्रष्ट हुन्छ । हिजो एमालेलाई नव संशोधनवाद, अवसरवाद र दक्षिणपन्थी भनेर सत्तोसराप गर्ने साथीहरु आज माओवादी जनयुद्धको मूल्य र मान्यतालाई मेटाउन गद्दारीपन गरेर पार्टी एकता गर्न पुग्नु भयो । उहाँहरु भित्र निम्न पुँजीवाद र दक्षिणपन्थ भड्कावको तुष रहेछ भन्ने प्रमाण पनि हो ।”


संस्कृत भाषाप्रति वैद्यको दृष्टिकोणः
संस्कृतमा शास्त्री गर्नुभएको तर कम्युनिष्टले भन्ने द्वन्द्वात्मक भौतिकवाद बीचको अन्तरको बारेमा किरण यसो भन्नुहुन्छ– ‘‘संस्कृत भाषा एउटा भाषा होे । तर यसलाई हेर्ने दृष्टिकोण अलि नकारात्मक र पृथक रुपमा व्याख्या गरियो । त्यहाँ अध्यात्मवाद पनि छ, भौतिकवाद पनि छ, द्वन्द्ववाद पनि छ । शोषण उत्पीडनको सिद्धान्त पनि छ । शोषण उत्पीडनका विरुद्ध संघर्ष गर्ने सिद्धान्त पनि छ । संस्कृत एउटा भाषा हो, त्यहाँ अनगिन्ती विद्याहरु छन् । हो, त्यतिवेला मैले धेरै अध्ययन अनुसन्धान गर्न सकेको थिइनँ, तर अहिले मैले अध्ययन अनुसन्धानको दौरानमा त्यस बारेमा बुझ्न सिक्न पाएँ र थाहा पाएँ । वास्तवमा संस्कृतलाई विस्तारै गलत ढङ्गले व्याख्या गरियो” । वैद्यका विचारमा “संस्कृतमा राम्रो खालको ज्योतिष छ, भौतिकवाद छ, द्वन्द्ववाद छ, राम्रा पक्षहरु छन् ।

संस्कृतप्रतिको वितृष्णा गुरु, पण्डितहरुले गर्दा भएको हो । अर्कोकुरा विद्यार्थीहरुलाई संस्कृत विषय अनिवार्य नभई, ऐच्छिक बनाइदिएको भए राम्रो हुन्थ्यो । धनी र गरिब हुनुहुन्न, सम्पत्ति बराबर हुनुपर्छ भन्ने कुरा पनि छन् त्यहाँ । माक्र्सको द्वन्द्ववादको सिद्धान्त पनि त्यही छ ।” उहाँ भन्नुहुन्छ –“जसलाई संस्कृत भाषाको ज्ञान छैन, बुझेका छैनन् उनीहरुले संस्कृत भाषालाई अपव्याख्या गरे बुझ्दै नबुझी । अंग्रेजी पढें भनेर आध्यात्मिक विद्या, कर्मकाण्डी विद्या भन्ने ? अंग्रेजीलाई पवित्रीकरण गर्ने, त्यसो भन्ने हो भने त अंग्रेजी भाषा साम्राज्यवादी विद्या हो नि त ! यो गलत प्रवृत्तिले संस्कृत भाषाको अपव्याख्या गरियो । मेरो भनाइको अर्थ केहो भने सबै भाषाको महत्व छ । संस्कृत भाषालाई कर्मकाण्डी भाषाको रुपमा मात्रै व्याख्या गर्नुहुन्न भन्ने हो । संस्कृत भाषा एउटा क्लासिकल भाषा हो । शास्त्रीय भाषा हो, राम्रो भाषा छ, मिठो भाषा छ । संस्कृतमा भौतिकवाद पनि छ, द्वन्द्ववाद पनि छ, रुढिवादी पनि छ, प्रगतिशील पनि छ ।”


संस्कृत भाषाप्रति वितृष्णा पैदा गराउने काम संस्कृत भाषाका विद्वान्हरुबाटै भएको हो भन्ने मत पनि छ । किनकी संस्कृत भाषाका विद्वान्हरुले सबै कुरा संस्कृत भाषा मात्रै हो भन्ने खालको जुन धृष्टता देखाए, त्यसले यो भाषाप्रति वितृष्णा पैदा भएको हो, र ब्राह्मणवादी घमण्डीको उपज पनि हो भन्नुहुने वैद्य –“पुराण, पण्डित्याइँ, पुरोहितवादमै सीमित गरिदिंदाले नै संस्कृत भाषाप्रति मानिसहरुको वितृष्णा ज्यादै पैदा हुनपुग्यो । वास्तवमा संस्कृत भाषालाई प्रयोग गर्नेभन्दा अपव्याख्या गर्ने काम भयो ।” संस्कृत भाषा शिक्षाको राम्रो पक्षका बारेमा वकालत नगरी वेद, पुराण, पण्डित्याइँ, पुरोहितवादको वकालत गरेर मात्र हुन्छ ? भाषाको राम्रो पक्षको बारेमा वकालत गर्नुपर्छ भन्ने मान्यता देखिन्छ– मोहन वैद्य किरणसँग ।
मोहन वैद्यको जेल जीवनः
पहिले पटक २०२५ सालको अन्तिम समयमा जेलको जीवनको अनुभूति गर्नु भएका वैद्य करिव ५ महिना जेलमा बन्दी जीवन विताउनु भयो । जेल पर्नुको कारण थियो चिनियाँ नेता माओत्सेतुङ्गको रेड बुक लिएको निहुँ थियो । जबकी काठमाडौंमा त्यतिबेला माओको रेड बुक खुला बजारमा किन्न पाइन्थ्यो तर वैद्यलाई त्यही किताव लिएको निहुँमा ५ महिना जेलको चिसो छिंडिमा बिताउनु प¥यो । त्यसपछि २०२७ सालमा प्युठानको गाउँमा जालि फटाहाको विरोधगर्दा तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार ग¥यो र ७ महिनाको बन्दी जीवन विताउनु भयो । त्यसै २०२९ साल मङ्सिर २९ गते पार्टीको दस्तावेज सहित पक्राउन पर्नु भएको वैद्यलाई हुलाक सारेजस्तै पोखरा हुँदै, वालिङ्, तानसेन, रिडी, तम्घास हुँदै विभिन्न ठाउँमा जेल चलान गर्दै अन्त्यमा सल्यान जिल्लाको अञ्चल अदालतले १८ महिना पछि जेल मुक्त ग¥यो । सात वर्षे जेल जीवनको अन्तिम समय माओवादी जनयुद्ध उत्कर्षमा पुगेको बेला आँखाको मोतिविन्दुको अप्रेशन भए लगत्तै भारतीय सेनाले सिलगुढीबाट २०६० साल चैत महिनामा गिरफ्तार ग¥यो । बीस वर्ष लामो भूमिगत जीवन विताएका मोहन वैद्य किरणको भूमिगत जीवन २०३४ साल असारदेखि सुरु भएको थियो २०४६ सम्म १२ वर्षसम्म यो उहाँको पहिलो भूमिगत कालखण्ड थियो भने दोस्रो खण्डमा उहाँ जनयुद्धको थालनीसँगै २०५२ देखि भूमिगत रहनुभएका वैद्य २०६० सालमा भारतको सिलगुढीमा गिरफ्तार हुनु भयो ।


वैद्य गिरफ्तार भए पछि माओवादी जनयुद्धलाई ठूलो धक्का पुग्ने साम्राज्यवाद, भारतीय विस्तारवाद मात्र नभै देशी सामन्तवाद पनि निकै रोमाञ्चित र ढुक्क थियो । २०६३ साल मङ्सिरमा बन्दी जीवनबाट रिहा हुँदा देशमा तत्कालीन नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कांग्रेस (प्रजातान्त्रिक) लगायत ७ राजनीतिक दल र विद्रोही माओवादीका बीच भारतको नयाँ दिल्लीमा २०६२ साल मङ्सिर ७ गते १२ बुँदे सहमति भएको थियो । वि.सं. २०६३ साल मङ्सिर ५ गते वृहत्त शान्ति सम्झौता भै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) शान्ति प्रक्रियामा अवतरण गरिसकेको थियो । माओवादी आन्दोलनलाई सेफल्याण्डिङ गर्ने परिवेश चुङवाङ बैठकबाट भयो । वैद्य भन्नुहुन्छ –“बाह्र बुँदे सहमति पढें । चुनवाङ बैठकको दस्तावेज पढें, चुनवाङ बैठकको कार्यदिशाले मेरो आँखा खोलिदियो । जसमा नयाँ जनवादलाई हटाएर लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिएको छ । पार्टी सिध्याए, ठूलो गल्ति गरे, यो दुर्घटनाबाट बच्न कत्तिको सकिन्छ भन्ने लाग्यो त्यति नै बेला मलाई । ”


नेपाली साहित्यमा वैद्यको योगदानः

मोहन वैद्य नेपाली कम्युनिष्ट आन्दोलनको अथक योद्धाका रुपमा परिचित र स्थापित नाम हो । यद्यपि, नेपाली साहित्यको फाँटमा पनि मोहन वैद्यको महत्वपूर्ण योगदान रहेको छ । वैद्यले नेपाली साहित्यलाई पनि ठूलो गुन लगाउनु भएको छ । उहाँका लाहुरेको रहर (खण्डकाव्य) क्रान्ति र सौन्दर्य, माक्र्सवादी दर्शन, माक्र्सवादी सौन्दर्यचिन्तन, लगायत एक दर्जन पुस्तकहरुका अतिरिक्त २०७४ सालको मदन पुरस्कारका लागि छनौट भएको ‘हिमाली दर्शन’ जस्ता कृतिहरुका साथै फुटकर लेख रचनाहरु थुप्रै प्रकाशित भएका छन् । राजनीतिमा नलागेको भए आफु प्राध्यापन पेशामा लाग्ने थिए भन्नुहुने वैद्य आजपर्यन्त आफ्नो आदर्शका व्यक्तिहरु कालमाक्र्स, लेनिन र माओलाई ठान्नुहुन्छ । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा अडिक हुनुहुन्छ । जीवनभरी कम्युनिस्ट राजनीतिमा लाग्नु भएका मोहन वैद्य “नेपालमा सच्चा कम्युनिस्ट छैनन्, कम्युनिस्ट आवरणमा पुँजीवादीको धब्बाको चरित्र देखिएको छ । कम्युनिस्ट बन्न त्यति सजिलो छैन, सच्चा कम्युनिस्ट हुनका निम्ति भनाइ र गराइमा एकरुपता आउनुपर्छ । देश र जनताको मुक्ति मिल्ने कुरामा लाग्नुपर्छ । तमाम प्रकारका विचलनका विरुद्ध लड्न सक्नुपर्छ । जनताका सुख दुखसँग एकाकार हुन सक्नुपर्छ । हाम्रो प्रयास भनेको जिन्दगी भरी कम्युनिस्ट हुने प्रयास त हो, तर अझै सच्चा कम्युनिस्ट हुन सकिएको छैन”–भन्नुहुन्छ ।


देशमा जुन खालको वैदेशिक हस्तक्षेप छ, दवाव छ, त्यसका विरुद्धमा उठ्नु पर्ने बेला आएको बताउने मोहन वैद्य ‘किरण’ राष्ट्रिय स्वाभिमान, राष्ट्रिय चेतना र सर्वहारा अन्तर्राष्ट्रियवादसँग जोडिनुको साथै द्वन्द्वात्मक, ऐतिहासिक भौतिकवाद र राष्ट्रवादको महत्व पनि बुभ्mदै जानु पर्दछ भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ –“नयाँ पुस्ताले माक्र्सवादको गम्भीरतापूर्वक अध्ययन गर्न जरुरी छ । माक्र्सवाद असफल भएको छैन र, असफल हुँदैन । त्यो एउटा विज्ञान हो । माक्र्सवादको सहि ढङ्गले अध्ययन गरेर बौद्धिक क्षेत्रमा नयाँ जागरणको अवस्था ल्याउनु पर्छ । देशको राष्ट्रिय स्वाधिनता र जनताको मुक्तिका लागि साम्राज्यवाद र विस्तारवादका विरुद्ध लड्नुपर्छ । उपभोक्तावादी संस्कृतिका विरुद्ध देश र जनताको मुक्तिको निम्ति सशक्त रुपमा लड्र्दै वैज्ञानिक चिन्तनको विकास गर्र्ने तर्फ लाग्नु पर्छ । नेपाललाई साँचो अर्थमा नयाँ नेपाल बनाउन यहाँ भएको प्राकृतिक र मानवीय स्रोत साधनको राम्रो तरिकाले सदुपयोग गरी उत्पादनमुखी रोजगारी दिनु पर्दछ । सामाजिक रुपमान्तरणका निम्ति क्रान्ति गर्न र हामीले गर्न नसकेका कार्यभारलाई पूर्णता दिन नयाँ पुस्ता दृढतापूर्वक अगाडि बढ्नुपर्ने बेला आएको छ ।”