काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र लथालिङ अवस्थामा रहँदै आएको छ । महिनौसम्म सडक मर्मत गर्ने बहानामा सडक नै भत्ताएर अलपत्र छोड्ने प्रवृत्तिले नगरपालिका र जनप्रतिनिधिहरुको लापरवाहीको सीमा नाघेको छ । सडक मर्मत गर्ने नाली बनाउने नाममा नगरपालिका र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार मौलाएको छ ।


ट्याङ्ग्लाफाँट हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्डमा दुई साता अघि गरिएको पिच भत्केर यातायातका साधन र विद्यार्थी, वृद्धवृद्धा सर्वसाधारण बटुवाहरुलाई हिंड्न समेत ठूलो समस्या भएको छ । सडक मर्मत गर्ने नाममा कुनै सुधार नगरी माटोमाथि नै पिच गरिएकोले सडक पिच भएको दुई हप्ता नपुग्दै चित उप्किएका छन् । सडक खाल्टोमा परिणत भै पानी जमेको छ । सडक भत्ताएर पानी जाने नालीहरु पुरिएका छन् । महिनौसम्म सडक भत्ताएका राख्ने, सडक मर्मत गर्ने नाममा आफ्ना नचिकका ठेकेदारलाई पोस्ने काम नगरपालिकाले गरेको छ । कीर्तिपुर नगरपालिकाले त्यसतर्फ अनुगमन गर्न कुनै चासो नदिएको स्थानीयहरुको गुनासो छ । यतिखेर कीर्तिपुर नगरपालिकामा कमिशन खाएर सरकारी ढुकुटी स्वाहा पार्ने काम भैरहेको छ । नगर र वडामा जनप्रतिनिधिहरुलाई समस्याको बारेमा जाहेर गर्दा कुनै सुनुवाइ नै नभएको स्थानीयहरुको भनाइ छ ।

ट्याङ्ग्लाफाँट कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड


अर्कोतिर दुई महिना अघिमात्रै ढलान र पिच गरिएका सडकहरु ट्याङ्ग्लाफाँट कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्डनाममा भत्ताउने र खनिएका खाल्टाहरु राम्रोसँग नपुरी त्यसै अलपत्र पारेर छोडेको छ । जसले गर्दा सडक दुर्घटना निम्तिने खतरा पनि त्यति नै छ । ठेकेदारी प्रथामा चलेका यस्ता नाममात्रका विकासे कामका नामबाट ठेकेदारसँग मिलेर सरकारी ढुकुटी स्वाहा पार्ने काम भैरहेको छ । स्थानीय सरकार भनिने नगरपालिका र वडालाई यसबारेमा जानकारी गराउँदा समेत कुनै चासो नदिएको स्थानीयहरुको गुनासो छ ।


यसैगरी एकमहिना अघिमात्रै पिच गरिएका सडक खानेपानीको नयाँ पाइप विस्तार गर्ने भन्दै खनेर छाडिएका छन् । नगरपालिका, नेपाल टेलिकम र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच समन्वय नहुँदा पक्कि सडकहरु समेत भत्ताएर अलपत्र छाड्ने कामले त्यस क्षेत्रका जनता आहत भएका छन् । कीर्तिपुर नगरपालिकाको यस्तो गैह्रजिम्मेवारी र लापरवाहीले त्यसक्षेत्रका बासिन्दा, सवारी साधन र बटुवाहरुले ठूलो समस्या झेल्दै आएका छन् ।