काठमाडौं– नेपाल मिस वल्डको प्रतिस्पर्धामा राउण्ड ३० मा प्रवेश गरेको छ । मिस नेपाल वल्ड नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्जमा इण्डोनेसियालाई पराजित गर्दै राउण्ड ३० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उत्कृष्ट ३० मा परेपछि आफू झनै उत्साहित भएको र आगामी राउण्डहरूमा झनै राम्रो प्रस्तुती दिने नम्रताले बताइन् । नम्रताले ’मेरो उद्देश्य भनेको उपाधि जित्नुमात्र नभै नेपाललाई चिनाउनु पनि हो । यसको लागि म सधैं उत्कृष्ट प्रस्तुती दिनेछु ।’

नेपालको प्रतिनिधित्व गरिरहेकी नम्रताले हेड टु हेडमा सोधिएको प्रश्नमा निकै उत्कृष्ट जवाफ दिएकी थिइन् । उनले दिएको जवाफको धेरैले तारिफ गरेका थिए । उत्कृष्ट ३० मा नेपालसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सले पनि आफ्नो स्थान पक्का गरिसकेका छन् ।

अमेरिकामा जारी मिस वर्ल्डको प्रतिस्पर्धामा भोटिङ चलिरहेको छ । पछिल्लो समय भोटिङका आधारमा दिइने ब्युटी वीथ पर्पोस र मल्टिमिडिया अवार्डमा नेपाल बलियो दावेदार मानिन्छ । यसवर्ष पनि उक्त विधामा नेपालले उपाधि चुम्ने धेरैको आशा रहेको छ । नम्रता आफू पनि उपाधि नै जित्ने प्रयासरत रहेको बताउँछिन् ।