भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

गए राति करिब ९: ४५ बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल नजिकै कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले घटना राति करिब १० बजे भएको र मृतकको मुखमा गहिरो चोट रहेको बताउनुभयो । उनले कुटपिटबाट हत्या भएको जानकारी दिँदै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ । प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजी गरिरहेको छ । शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको र छिट्टै अपराधीको पहिचान हुने प्रहरीले दाबी गरेको छ । – रासस