जर्मनीको नयाँ चान्सलर ओलाफ सोल्स, फाइल तस्वीर ।
म्युनिख – जर्मनमा आजदेखि नयाँ चान्सलरले कार्यभार सम्हाल्ने भएका छन् । सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ सोल्स जर्मनीको नयाँ चान्सलर बन्ने पक्का भएको छ । मङ्गलबार गठबन्धन सरकारका लागि तीन दलबीच भएको सहमतिसँगै सोसल डेमोक्रेटिक पार्टीका नेता सोल्स जर्मनीको नयाँ चान्सलर बन्ने निश्चिन भएको हो ।

सहमतिअनुसार सोल्सको पार्टीले रक्षा, गृह र स्वास्थ्यसहितका मन्त्रालय पाउने भएको छ । त्यस्तै, चुनावमा चान्सलरको उम्मेदवार बनेकी ग्रिन्स पार्टीकी आनालेना बायरबोक जर्मनीको नयाँ विदेशमन्त्री बन्ने छिन् भने फ्रि डेमोक्रेटिक पार्टीका क्रिश्चियन लिन्डनरले अर्थमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् ।

सन् १९५० को दशकपछि पहिलो पटक ३ दलीय गठबन्धन बनेसँगै चान्सलर पद छोड्न लागेकी एंगेला मर्केलको पार्टी क्रिश्चियन डमोक्रेटिक युनियन र उनको सत्ता साझेदार दल क्रिश्चियन सोसल युनियन प्रतिपक्षको भूमिकामा रहने छन् । वर्तमान चान्सलर एंगेला मार्केलले सन् २०१४ देखि जर्मनको नेतृत्व गर्दै आएकी थिइन । क्रिश्चियन डेमोक्रेटिक युनियनकोबाट सत्तामा पुगेकी मार्केल जर्मनमा लोकपृय नेताका रुपमा स्थापित छन् ।

जर्मनका लागि नयाँ चान्सल सोल्सको जन्म सन् १९५८ मा लोअर स्याक्सोनीमा भएको थियो । १७ वर्षको उमेरदेखि नै सोसल डेमोक्रेटिक पार्टीमा लागेका सोल्स दोस्रो विश्वयुद्धपछि सो पार्टीबाट चान्सलर बन्ने चांैथो व्यक्ति बनेका छन् ।

गत सेप्टेम्बरमा सम्पन्न सङ्घीय निर्वाचनमा सोल्सको पार्टी झण्डै १९ वर्षपछि ठूलो दलको रुपमा उदाएको थियो । उक्त पार्टीले चुनावी अभियानमा समेत ६३ वर्षीय सोल्सलाई नै बढी केन्द्रमा राखेको थियो । सुरुदेखि नै वर्तमान चान्सलर मार्केलको उत्तराधिकारीको रुपमा अघि सारिएका सोल्सले २०१८ देखि अर्थमन्त्रीको जिम्मेवारी बहन गर्दै आएका थिए ।

सोल्ससँग सन् २००७ देखि २००९ सम्म श्रम तथा सामाजिक मामिला मन्त्रीको अनुभव समेत छ । ‘सेकुलर’ विचार राख्ने उन जर्मनीले नयाँ ऋण लिन नहुने र सार्वजनिक खर्च सीमित पार्नुपर्ने आर्थिक नीतिको पक्षमा देखिन्छन् । उनले चुनावी अभियानका क्रममा समेत जर्मनीसँग ऋण व्यवस्थापन गर्ने क्षमता रहेको बताएका थिए ।

‘यस (ऋण) बाट कोही पनि डराउनु पर्दैन किनभने २००८÷२००८ को आर्थिक संकटपछि हामीले यसको व्यवस्थापन गरिसकेका छौं’, उनले भनेका थिए, ‘हामीले १० वर्षभित्रै यसलाई पुनः व्यवस्थापन गर्ने छौं ।’

विदेश नीतिको कुरा गर्ने हो भने सोल्स ‘प्रो–युरोपियन’ देखिन्छन् । एउटै अडान राख्ने सशक्त एवं स्वतन्त्र युरोपको पक्षमा उभिँदै आएका उनले नेटो र अमेरिकासँगको सहकार्यलाई आधारभूत सिद्धान्तका रुपमा हेर्छन् ।

सोल्सलाई पार्टीको नरमपन्थी धारसँग नजिक भएको ठानिन्छ । उनले कोभिड–१९ महामारी सुरु भएदेखि नै जर्मनीले नयाँ स्वास्थ्य संकटसँग जुध्ने गरी कदम चालेका थिए । महामारीसँग जुध्न भन्दै उनले अप्रत्यासित रुपमा विभिन्न खाले आर्थिक प्याकेज ल्याएका थिए । गत वर्ष जुनमा १३० मिलियन युरो बराबरको ‘स्टिमुलस प्याकेज’ का कारण इटली र फ्रान्सको तुलनामा जर्मनीको अर्थतन्त्र गतिशील बनाएको थियो ।

जुनमा सम्पन्न जी–७ राष्ट्रको सम्मेलनमा बहुराष्ट्रिय कम्पनीमाथि कम्तिमा १५ प्रतिशत कर लगाउनु पर्ने भन्दै सोल्सले पेश गरेको प्रस्ताव पारित भएको थियो । सोल्सले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मनाउन सकेका कारण नै जी–७ राष्ट्रहरु न्यूनतम करसम्बन्धी उनको पक्षमा उभिएका थिए । (समाचार एजेन्सीको सहयोगमा)