पत्रपत्रिकाबाट

काठमाडौं – एमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । त्यहाँ पनि अन्य साना दलले गठवन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरिसकेका छन् ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार÷चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । सत्तागठबन्धन एकैठाउँ हुँदा एमालेले कम्तीमा पाँच सिट गुमाउने सम्भावना छ । रिक्त हुन गइरहेका एक मनोनीतबाहेक १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार १२ माघका लागि निर्वाचनको मिति तोकिइसकेको छ । राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार भने १८ हुन्छ ।

प्रदेश १ मा एमालेको मतभार चार हजार पाँच सय ४२ छ भने गठबन्धनको मतभार चार हजार चार सय ६४ रहेको छ । अन्य दलहरूको मतभार तीन सय ४२ रहेको छ । जसअन्तर्गत राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लोकतान्त्रिक फोरमलगायत छन् । गठबन्धनले साना शक्तिका मत पाए एमालेलाई यहाँ पनि जोखिम छ ।
प्रदेश २ मा गठबन्धन बलियो छ, जहाँ एमालेको मतभार नौ सय ४२ छ भने गठबन्धनका दलको मतभार सात हजार एक सय ९४ छ । अन्य दलको मतभार एक हजार ७ सय ५२ रहेको छ । अन्य मतभारलाई एमालेले आफूतिर तान्दा पनि गठबन्धनलाई जित्न सक्ने देखिँदैन ।

बागमती प्रदेशमा पनि एमालेको उपस्थिति कमजोर छ । यहाँ एमालेको मतभार चार हजार एक सय ५२ रहेको छ भने गठबन्धनमा रहेका दलहरूको मतभार चार हजार आठ सय ९० रहेको छ । अन्यको चार सय ७४ मतभार छ ।

गण्डकी प्रदेशमा पनि गठबन्धन बलियो छ । गठबन्धनसँग तीन हजार एक सय ८० मतभार रहेको छ । जब कि एमालेसँग दुई हजार पाँच सय ३८ मात्रै मतभार रहेको छ । अन्यसँग एक सय ५६ मतभार रहेको छ । ती सबै मत तान्दा पनि एमालेले गठबन्धनलाई जित्न सक्ने देखिँदैन ।

लुम्बिनी प्रदेशमा गठबन्धन झन्डै हजार मतभारले अगाडि छ । एमालेको मतभार तीन हजार दुई सय ७६ रहेको छ । अर्कोतिर गठबन्धनको मतभार चार हजार दुई सय ६ रहेको छ । अन्यको मतभार दुई सय ७८ रहेको छ ।

कर्णाली प्रदेशमा एमालेभन्दा गठबन्धन दोब्बर मतभारले अगाडि रहेको छ । एमालेको मतभार एक हजार चार सय ३४ रहेको छ । गठबन्धनको मतभार दुई हजार आठ सय ९८ रहेको छ । यस प्रदेशमा राप्रपाको एक सांसद छन्, पालिकमा उसको दुईजनाको मतभार पनि छ । पालिकामा अन्य ६ जना स्वतन्त्र विजयी पनि छन् । यसरी राप्रपा र स्वतन्त्र गरी एक सय ९२ मतभार छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेको मतभार एक हजार सात सय ८८ मात्रै रहेको छ । अर्कोतिर गठबन्धनको मतभार तीन हजार पाँच सय २५ रहेको देखिन्छ । अन्य ८४ मतभार छ । कार्यकाल सकिनेमध्ये तीनजना प्रदेश १ बाट निर्वाचित भएर आएका छन् । अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ तीनैजना एमाले सांसद हुन् ।

प्रदेश २ बाट आएका दुईजना (सुमनराज प्याकुरेल र शशीकला दाहाल)को पनि कार्यकाल सकिन लागेको छ । प्याकुरेल एमाले सांसद हुन् भने दाहाल माओवादी । बागमतीबाट निर्वाचित कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी सांसद उदया शर्मा पौडेल पनि बिदा हुँदै छन् ।

गण्डकीबाट आएका तीनजना सांसदको समयावधि पनि सकिँदै छ । त्यसमध्ये दीनानाथ शर्मा र खिमकुमार विक माओवादीका हुन् भने शान्तिकुमारी अधिकारी एकीकृत समाजवादीकी हुन् । लुम्बिनीबाट आएका एमालेका कोमल वली र रामलखन चमारको चारवर्षे कार्यकाल थियो । यसै प्रदेशबाट नेतृत्व गर्ने कांग्रेसका दृगनारायण पाण्डे पनि २० फागुनबाट राष्ट्रिय सभा सदस्य रहनेछैनन् ।

कर्णालीबाट विजयी भएर आएका कविता बोगटी, जीवन बुढा र ठगेन्द्रप्रकाश पुरीको पनि कार्यकाल सकिन लागेको हो । बोगटी एमाले सांसद हुन्, बुढा माओवादी र पुरी एकीकृत समाजवादीका हुन् ।सुदूरपश्चिम प्रदेशबाट विजयी भएर आएका चक्रप्रसाद स्नेही, तारादेवी भट्ट र शेरबहादुर कुँवरको पनि चारवर्षे अवधि सकिन थालेको छ । स्नेही एमाले, भट्ट कांग्रेस र कुँवर एकीकृत समाजवादी सांसद हुन् । मनोनीत सांसद रामनारायण बिडारीको कार्यकाल पनि यसैपटक सकिँदै छ ।

आयोगको तयारी तीव्र
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले १ पुसदेखि लागू हुने गरी मंगलबार निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि १२ माघमा हुन लागेको निर्वाचनका लागि आयोगले अन्य प्राविधिक तयारी पनि थालेको छ ।

आयोगले दल दर्ता र दर्तामा पनि दाबी विरोध, मतादाता नामावली प्रकाशित गर्ने, दाबी विरोध गर्ने, अन्तिम नामावली प्रकाशित गर्ने, मनोनयन गर्ने, मनोनयनको दाबी विरोधदेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

१–१० पुस : राजनीतिक दल दर्ता
१७ पुस  :मतदाता नामावली प्रकाशन
१८–१९ पुस : अन्तिम नामावली प्रकाशन
२० पुस : मनोनयन दर्ता
२१ पुस : उम्मेदवारको विरोधमा उजुरी
२२–२३ पुस : उजुरीमाथि छानबिन
२४ पुस : उम्मेदवारले नाम फिर्ता लिने
२५ पुस : अन्तिम नामावली र चुनाव चिह्न प्रदान
१२ माघ  : मतदान

को–को बिदा हुँदै छन् ?

प्रदेश १ : अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (सबै एमालेका)

प्रदेश २ : सुमनराज प्याकुरेल (एमाले), शशीकला दाहाल (माओवादी)

बागमती : राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)

गण्डकी : दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी), शान्तिकुमारी अधिकारी जिसी (एकीकृत समाजवादी)

लुम्बिनी : कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)

कर्णाली : कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)

सुदूरपश्चिम : चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)

मनोनीत : रामनारायण बिडारी (नयाँपत्रिका दैनिकबाट)