काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा नपुग्ने डब्लुएचओका अधिकारीले बताएका छन् ।


ओमिक्रोन देखापरेको दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि विश्व स्वास्थ्य सङ्गठनेले यस्तो धारणा सार्वजनिक गरेको होे । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको जनाएका छन् ।

यसैसन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनका डा. माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्टभन्दा शक्तिशाली नदेखिएको बताउँदै कोरोनाा भाइरसविरुद्ध लगाइएका खोपले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका आपतकालीन निर्देशक डा. रायनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘हामीसँग प्रभावकारी खोप छन् र ती खोपहरु सबै भेरियन्टविरुद्ध गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित भएको छ । अहिलेसम्म ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएको छ ।’

डेल्टा वा अरु भेरियन्टले भन्दा बढी बिरामी ओमिक्रोनले नबनाउने प्रारम्भीक तथ्यहरुले देखाएको उनले बताएका छन् । खोपले कम्तीमा पनि गम्भीर बिरामी हुनबाट रोक्ने देखिएको डा. रायनले बताए ।

दक्षिण अफ्रिकामा भएको अनुसन्धानमा कोरोना भाइरसको सुरुको भेरियन्ट भन्दा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता ४० गुणा कम देखिएको छ । तर ओमिक्रोनविरुद्ध पनि काम गरेको भने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले काम गरिरहेको बताए पनि वैज्ञानिकहरुले भने ओमिक्रोनले हालको खोपलाई छल्न सक्ने सम्भावना भने रहेको बताउँदै आएका छन् ।