अमेरिकाले आगामी वर्ष चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक उत्सवमा योगदान नगर्ने बताइन् ।

चीनले यसअघि नै बहिष्कारका कुनै पनि घटनाहरूलाई त्यसरी नै प्रतिवाद गर्ने बताइसकेको छ । यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो । त्यतीबेला अमेरिकाले आफ्ना खेलाडीलाई पनि सहभागी हुन दिएको थिएन ।