काठमाडौं – नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक सञ्जालभर फैलिएको छ । सरकारले नयाँ भेरिएन्टको सङ्क्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी गरिरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताउनुभएको छ ।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा उहाँले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको प्रस्ट पार्नुभएको हो ।

सरकारले ओमिक्रोन सङ्क्रमण पुष्टि भएका चीनको हङकङको राज्य र दक्षिण अफ्रिकासहितका ९ मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । भारतबाट आउनेलाई अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि छ । नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।