नागाल्याण्ड– भारतको नागाल्याण्ड राज्यमा सुरक्षामर्की गोली लागेर १३ जना सर्वसाधारण नागरिक र एक जना प्रहरीको मृत्यु भएको छ । सुरक्षाकर्मीले आतङ्कवादीविरुद्धको अप्रेशनका क्रममा गलत ठाउँमा हमला गर्दा ती सर्वसाधारण नागरिकहरु मारिन पुगेका हुन् ।


उक्त क्षेत्रमा उग्रवादीहरुको गतिविधि सञ्चालन भइरहेको विश्वसनीय सूचनाको आधारमा सुरक्षाकर्मीले अप्रेशन चलाइएको सुरक्षा बलले बताएको छ । सुरक्षाकर्मीको कारवाहीका क्रममा स्थानीयको मृत्यु भएपछि गाउँलेहरुले सुरक्षाकर्मीलाई घेरा हालेका थिए । त्यसक्रममा सुरक्षाकर्मीले ‘आत्मरक्षा’का लागि गोली चलाएको बताएको छ । आक्रोशित स्थानीयले सुरक्षाकर्मीका गाडीमा आगजनी समेत गरेका छन् ।


म्यानमारसँग सीमा जोडिएको नागाल्याण्ड राज्यको मोन जिल्लाको ओटिङ गाउँमा अप्रेशनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा उक्त घटना घट्न पुगेको सुरक्षाकर्मीको भनाइ रहेको छ । भारतीय गृहमन्त्री अमित शाहले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै छानविन गर्न आदेश दिएका छन् ।