एजेन्सी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलङ्कामा पनि देखिएको छ । सुरुमा अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका सङ्क्रमित श्रीलङ्कामा पनि देखिएका हुन् ।

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले नाइजेरियाबाट केही दिनअघि श्रीलङ्का आएका एक जना व्यक्तिमा सो भाइरस देखिएको जनाएको छ । हाल क्वारेन्टिनमा राखेर उनको उपचार भइरहेको बताइएको छ । ती व्यक्तिको अवस्था सामान्य रहेको बताइएको छ ।

अमेरिकाको न्युयोर्क सहरमा पनि बिहीबार सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले यो नयाँ भेरियन्ट गत बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो । यो भाइरस केही दिनमा नै विश्व्का विभिन्न देशमा देखिइसहेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।