भद्रपुर– झापा प्रहरीले ठूलो परिमाणमा लागूपदार्थ ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आलेमगरले मलद्वारमा लुकाइ च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बेलुका करिव पाँच बजे मेचीनगर–४ स्थित राईसिङमा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली गस्तिमा निस्किएको थियो । सोही क्रममा शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा चालक आलेमगरले मलद्वारमा च्यापेर ब्राउन सुगर ल्याएको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आलेमगरलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले बताएको छ । खुला सिमानाको फाइदा उठाउँदै तस्करहरुले समय समयमा प्रतिवन्धित लागूपदार्थ ओसार पसार गर्ने गरेका छन् ।