फाइल तस्वीर ।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माके) का अध्यक्ष प्रचण्डले चितवन राजनीतिको केन्द्र बनेको भन्दै चितवनलाई देशभरिका जनताले अध्ययन गर्ने गरी विकास गरिने दावी गर्नु भएको छ । पार्टी कामको सिलसिलामा चितवन पुग्नु भएका अध्यक्ष प्रचण्डले एक हप्ता अघि चितवनमा आयोजना भएको नेकपा एमालेको १० औं महाधिवेशनमा आएका उक्त पार्टीका नेता तथा कार्यकर्ताले यहाँको विकास देखेको हुँदा आफुलाई खुसी लागेको प्रतिक्रिया दिनुभएको छ ।


एमालेको १० औं महाधिवेशन चितवनमा हुनुले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनीतिक महत्व के हो भन्ने कुरा पनि स्थापित गरेर दावी समेत गर्नुभएको छ ।


एमालेको महाधिवेशनको पूर्वसन्ध्यामा माकेका अध्यक्ष प्रचण्डले आफुलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको भन्दै कटाक्ष गर्नुभएको थियो । तर अहिले अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशनका कारण चितवनको राजनीतिक महत्व के हो भन्ने कुरा स्थापित गरेको धारणा व्यक्त गर्नुभएको छ । उहाँले भन्नु भएको छ ‘धेरै पार्टीका कार्यक्रम चितवनमा नै होस्, एमालेले पनि यहीँ अधिवेशन गरेर राम्रो ग¥यो ।’ एमालेको महाधिवेशन चितवनमा हुनुलाई आफूले नकारात्मक रुपमा नलिएको पनि बताउनु भयो ।

अध्यक्ष प्रचण्डले नारायणी नदी किनारमा शनिबार पैदलमार्ग र पार्किङस्थलको शिलान्यास गर्दै ‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जङ्गलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो’– भन्नुभएको छ ।


अध्यक्ष प्रचण्डले चितवनमा एमालेले महाधिवेशन गर्नु राम्रो भएको भन्दै चितवनको विकासका लागि अरु दललाई पनि यस्ता कार्यक्रम गर्न आह्वान समेत गर्नुभएको छ ।