फाइल तस्वीर

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबबीच भएको खेल बराबरीमा सकिएको छ । लिग च्याम्पियनको होडमा रहेको थ्री स्टारलाई फ्रेन्ड्सले बराबरीमा रोकेपछि दुवै टिमले एक एक अङ्क बाँडेका छन् ।

निकै प्रतिस्पर्धात्मक यी दुर्व टिमबीचको रोमाञ्चक खेलमा फ्रेण्ड्सले दोस्रो हाफको सुरुमा गोल गर्दै पहिले अग्रता लिएको थियो । जितको नजिक पुगेको फ्रेण्ड्स क्लबले अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा थ्री स्टारले अन्तिम सात मिनेटमा बराबरी गोल गर्दै हारको सङ्कटलाई रोक्न सफल भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला भएको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर गुमाएका थिए ।

थ्री स्टारका संजोक राईको पासमा ऋतिक कुमार खड्काले ५० औं मिनेटमा पाएको वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा ५१ औं मिनेटमा फ्रेण्ड्सले अग्रता लियो । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेण्ड्स क्लबका नाथनियल जुड ग्रासियाले हेडमार्फत् गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा फ्रेण्ड्स क्लब सम्हालिन नसक्दा ८३ औं मिनेटमा थ्री स्टारका मिक्छेन तामाङले गोल गरेका थिए । जितको नजिक पुगेको फ्रेण्ड्स क्लब अन्तत् बराबरीमा रोकियो । फ्रेण्ड्सका खेलाडीले पेनाल्टी बक्समा क्लियर गर्न नसकेको बल मिक्छेनले गोल गरेका हुन् ।

बराबरीमा रोकिएको थ्री स्टारले ३ खेलबाट ४ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लंदा फ्रेण्ड्सले ३ खेलबाट २ अङ्कमात्र जोडेको छ । फ्रेण्ड्स क्लबले आजको अग्रतालाई जोगाउन सकेको भए ४ अङ्क बटुल्दै दोस्रो स्थानमा उक्लने थियो । तीन खेलबाट थ्रीस्टारको चार अङ्क छ। मनाङ मर्स्याङ्दीको दुई खेलबाट ६ अङ्क छ। अन्य पाँच क्लबको दुई खेलबाट चार अङ्क जोडेको छ।