काठमाडौं – जर्मनीमा खोप नलगाएका मानिसलाई हिँडडुलमाथि प्रतिबन्ध लगाइएको छ । बिहीबार खोप नलगाएका मानिसको हकमा देशव्यापी लकडाउन हुने घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । पद छोड्न लागेकी चान्सलर एंगेला मर्केल र उनका उत्तराधिकारी ओलाफ सोल्सले कोरोना महामारी नियन्त्रण गर्न भन्दै खोप नलगाएका मानिसहरू सुपरमार्केट र फार्मेसी जस्ता अत्यावश्यक स्थानमा बाहेक अन्यत्र जान नपाउने घोषणा गरेका हुन् ।

मर्केल र सोल्सले क्षेत्रीय नेताहरूसँग कोभिड संकटबारे छलफल गरेपछि उक्त घोषणा गरेको सीएनएनले जनाएको छ । तर हालै कोभिड–१९ संक्रमणबाट मुक्त भएका मानिसको हकमा भने हिडडुलमाथिको प्रतिबन्ध लाग्ने छैन । हिँडडुलसम्बन्धी पछिल्ला प्रतिबन्धअनुसार खोप नलगाएका मानिसले नजिकैका २ जना छिमेकीसँग मात्रै भेट्न पाउने छन् । यसबाहेक, एक हप्ताको अवधिमा हरेक एक लाख परीक्षणमा ३५० भन्दा संक्रमित फेला परेका स्थानमा बार र नाइट क्लबहरू बन्द गर्नुपर्ने छ । साथै, फुटबल प्रतियोगिता जस्ता ठूलो जमघट हुने स्थानमा मानिसको संख्या सीमित पारिने छ ।

त्यस्तै, दुवै नेताले अनिवार्य खोपसम्बन्धी प्रस्तावको समर्थन गरेका छन् । उक्त प्रस्ताव संसदबाट पारित भए फेब्रुअरीदेखि लागू हुन सक्छ । ‘अवस्था निकै गम्भीर बनेको कुरा हामीलाई थाहा छ र यसअघि चालिएका कदमसहित थप कदम चाल्न चाहन्छौं’ पत्रकार सम्मेलनमा मर्केलले भनिन्, ‘चौथो लहरलाई समाप्त पार्नुपर्छ तर हालसम्म यो कार्य गर्न सकिएको छैन ।’

जर्मनीमा कोभिड संक्रमितको संख्या बढिरहेका बेला खोप नलगाएका मानिसलाई लक्षित गरी पछिल्लो घोक्षणा गरिएको हो । विशेषगरी जर्मनीका पूर्वी राज्यमा कोभिड संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । संक्रमित बढ्न थालेसँगै अस्पतालका अति सघन उपचार कक्षमा चाप पर्न थालेको समाचारमा उल्लेख छ । वर्ल्डोमिटरका अनुसार जर्मनीमा हालसम्म कुल ६० लाख २६ हजार ७ सय ९६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ४९ लाख ७९ हजार ७ सय जना संक्रमण मुक्त भएका छन् भने एक लाख २ हजार ९ सय ९ जनाको मृत्यु भएको छ ।