काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २ सय १ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख १७ हजार ४ सय ९५ पुगेको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ भने ८ लाख ३ हजार ३ सय ६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् । जसमध्ये ६ हजार ७ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय १० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।