काठमाडौं – अमेरिकामा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक सङ्क्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक सङ्क्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा सङ्क्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको बताए ।

ओमिक्रोनको सङ्क्रमण पुष्टि भएका व्यक्ति यात्रा प्रतिबन्ध लगाउनुपूर्व नै अर्थात् नोभेम्बर २२ गते अमेरिका आएको र एक हप्तापछि उनमा सङ्क्रमण फेला परेको डा. फाउचीको भनाइ थियो । ती व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेको तर उनको सम्पर्कमा आएका मानिसमा भने कोरोना नेगेटिभ देखिएको फाउचीले बताए । फाउचीका अनुसार कोरोना खोपको पूर्ण डोज लगाएका व्यक्ति ओमिक्रोनबाट संक्रमित भएको र ‘माइल्ड लक्षण’ देखिएका उनको स्वास्थ्यमा हाल सुधार भइरहेको फाउचीको भनाइ थियो । सान फ्रान्सिस्कोका जनस्वास्थ्य निर्देशक डा. ग्रान्ट कोलफ्याक्सले सङ्क्रमित व्यक्तिले बुस्टर डोज भने नलगाएको बताए ।

यसै हप्ता विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट विश्वभर जोखिम बढेको बताएको थियो । संगठनका अनुसार हालसम्म २३ वटा मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ । तर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्ट ‘चिन्ताको विषय भए पनि डराइहाल्नु पर्ने कारण’ नभएको बताएका थिए । नयाँ ओमिक्रोन भेरियन्टको सङ्क्रामक क्षमता के–कति छ, यसबाट मानिसहरू गम्भीर रुपले सङ्क्रमति हुने वा नहुने र हालका खोपले काम गर्ने वा नगर्ने भनेर स्पष्ट भइसकेको छैन ।