पत्रपत्रिकाबाट

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाकी २६ वर्षीया बिस्ना नेपाली सेनामा कार्यरत छिन् । राउटे समुदायकी उनी २०६७ मा सेनाको बकासी ९बन्दोबस्ती कार्य सिपाही० भर्ना भएकी हुन् । उनी हाल कैलालीको बडैपुरस्थित कालीरक्षा गणमा छिन् । राउटे समुदायबाट सेनामा भर्ना भएकी उनी सम्भवतः एक्ली महिला हुन् ।

बिस्नालाई सेनामा भर्ना हुँदा सुरुमा निकै गाह्रो भयो । अरूका बोली र भाषा नबुझ्ने, आफ्नो बुझाउन पनि सकस हुने । कति दिन त नोकरी छाडेर पुरानै दिनचर्यामा फर्किन मन लाग्थ्यो । तर उनले हिम्मत हारिनन् । बिस्तारै बुझ्दै र सिक्दै गइन् । ‘सुरुमा कसैले बोलेको नबुझ्दिनथें, एकथोक भन्दा अर्कोथोक गर्थे, सबै हाँस्थे,’ उनले भनिन्, ‘अहिले निकै सजिलो छ, सबै काम सिकिसकें ।’बकासी सेनाको हतियार नचलाउने दर्जा हो । यो दर्जामा कार्यरतहरूले भान्साको काम र सरसफाइ गर्छन् । बिस्ना पनि बिहान ५ बजे उठेर कार्यालय सफा गर्ने, बाहिरभित्र झाडु लगाउने आदि काम गर्छिन् । ‘बिहानदेखि साँझसम्म सरसफाइकै काम हुन्छ,’ उनले भनिन्, ‘सजिलो नै छ, गाह्रो छैन ।’

बिस्नाले डडेलधुराको पर्शुराम नगरपालिकाको आमपानीमा ३ कक्षासम्म पढेकी हुन् । आमाबुबा आमपानीबाट ब्रह्मदेव नजिकैको मटेनामा बसाइँ सरेपछि उनले पढ्न पाइनन् । स्थानीयकै सहयोगमा उनी सेनामा भर्ना भइन् । भर्ना भएपछि दाङका दीपेन्द्र अधिकारीसँग उनको विवाह भयो । अधिकारी रोजगारीका लागि भारतको महाराष्ट्रमा छन् । बिस्ना पनि माइती र घर दुवैतर्फ आउजाउ गर्छिन् । आमा र भाइहरूलाई सहयोग पनि गरिरहेकी छ्न । ‘कहिले घर जान्छु, कहिले माइत आउँछु,’ उनले भनिन्, ‘आमा र भाइहरूको अवस्था कमजोर भएकाले खर्च पनि दिन्छु ।’

चाडपर्वका बेला उनले माइतमा सबैका लागि लुगा र खानेकुरालगायत सामग्री ल्याइदिन्छिन् । बिस्नाका चार भाइ र एक बहिनी छन् । बहिनी ५ कक्षामा पढ्छिन् । ३ भाइ गाउँमै ज्यालामजदुरी गर्छन् । सरकारले राउटे समुदायको पुनःस्थापनासँगै सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराएको छ । तर त्यसले मात्रै खर्च नपुग्ने उनीहरू बताउँछन् । कञ्चनपुरको भीमदत्त–९ मटेना, ब्रह्मदेव र खल्लामा करिब एक दर्जन राउटे परिवारको बसोबास छ । (कान्तिपुर दैनिकबाट)