ग्रीसमा ६० र सोभन्दा माथिको उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमण जोखिम बढ्दै गएका बेला ग्रीसले जोखिममा रहेका पाको उमेरका व्यक्तिमा खोप अनिवार्य गराएको हो ।

खोप लगाउन नमान्ने ६० वा त्योभन्दामाथिको उमेरका व्यक्तिले १०० युरो जरिवाना तिर्नु पर्नेछ । जरिवानाको नियम आउँदो जनवरीको मध्यदेखि लागू हुने र हरेक एक महिनाको फरकमा खोप लगाउन नमान्नेले १०० युरो जरिवाना तिर्नुपर्ने प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले बताएका छन् । जरिवानाबाट संकलित रकम स्वास्थ्य सेवा प्रणालीमा जाने पनि प्रधानमन्त्रीले बताएका छन् ।

ग्रीसमा कुल जनसंख्याको झण्डै ६३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तर अझै पनि ६० वर्षमाथिका पाँच लाख २० हजार मानिसले खोप लगाउन बाँकी छ ।

६० वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि लक्षित नयाँ नियम संसदबाट पारित हुन बाँकी छ। तर सांसदहरुले यसको पक्षमा मत दिने विश्वास गरिएको छ। ग्रीसमा हालसम्म कोरोना भाइरसका कारण १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यसअघि अस्ट्रियाले आउँदो फेब्रुअरीदेखि खोप अनिवार्य गर्ने घोषणा गरेको थियो ।