अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु हुनुका साथै एक शिक्षकसहित आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी दुई छात्रा छन् ।

प्रहरीका अनुसार १५ वर्षीय किशोरले अटोमेटिक ह्याण्डगनको प्रयोग गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

डेट्रोइटबाट करिब ६५ किलोमिटर टाढा रहेको अक्सफोर्ड बजारस्थित विद्यालयमा किशोरले किन आक्रमण गरे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार प्रहरी घटनास्थलमा पुगेलगत्तै ती किशोरले आत्मसमर्पण गरेका थिए । आक्रमणकारी किशोर त्यसै विद्यालयमा अध्ययनरत थिए । आक्रमणमा उनीबाहेक अरु कसैको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ । एजेन्सी