काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । सोहि अवधिमा २ सय ५६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख १६ हजार ८ सय ६४ पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको छ भने ८ लाख २ हजार ९ सय ९ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ६ हजार ९ सय ३१ जना रहेका छन् । जसमध्ये ६ हजार ५ सय ८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय १६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।