जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । विवाद हुँदा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अङ्ग रक्षकले गोली चलाएका हुन् ।

मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह निकटको नेताहरूले विवाद गरेको बताइएको छ । सोही क्रममा मन्त्रीको अङ्ग रक्षकले गोली फायर गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बलराको ८ र ९ नम्बर वडाको अधिवेशनमा विवाद हुँदा गोली फायर भएको बताउनुभयो । उहाँका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।

विवादका कारण त्यहाँको अधिवेशन रोकिएको छ । अधिवेशनस्थलमा झडप भएको थियो । सोही क्रममा मन्त्रीको अङ्ग रक्षकलाई चोट पनि लागेको छ । ११ वटा वडा रहेको बलरामा पाँच वडामा सहमति भएको छ । ४ वडामा छलफल चलिरहेको बताइएको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने निर्वाचन अधिकृतको तयारी छ ।