चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटनको तयारी हुँदै छ । पर्सी आइतबारसम्म हुने यो महाधिवेशनबाट एमालेले नयाँ नेतृत्व चयन गर्नेछ । चाहे सर्वसम्मत होस्, चाहे निर्वाचनबाट नै किन नहोस् । तर एमालेको आगामी कार्यदिशा के भन्नेभन्दा पनि नेताहरु पदीय भागबण्डामा नै केन्द्रीत छन् । यो महाधिवेशन केवल नेतृत्वका लागि हुने छ । नेतृत्वमा पुग्नका लागि नारायणी र राप्ती नदीमा जसरी पानी सलल बगिरहेको छ त्यसरी नै पैसाको खोलो पनि ओहिरीएको छ । गरिव सर्वहाराको पार्टी कम्युनिस्ट । तर नेकपा एमालेको यो महाधिवेशन कुनै पूँजीवादी पार्टीको भन्दा कम छैन् । अझ भन्ने हो भने त पूँजीवादी पार्टीको भन्दा पछि भद्दा देखिन्छ सर्वहारा भन्ने कम्युनिस्ट पार्टीको यो महाधिवेशन । लाग्छ कम्युनिस्ट शब्द र सिद्धान्त कै खिल्ली उडाइरहेको छ केपी शर्मा नेतृत्वको कम्युनिस्ट पार्टी एमालेले ।

जाडो याम छ, मौसम चिसिंदै गएको छ । रात छिप्पिंदै गएको छ । तर एमालेका नेता कार्यकर्ताहरु नेतृत्व हत्याउन रङ्गीन साँझमा सौराहामा मस्तराम छन् । शीर्ष नेताहरु १५ सदस्यीय पदाधिकारीका लागि सर्वसम्मत बनाउने निकम्मा प्रयासमा छन् । केपी ओली भनेको एमाले एमाले भनेको केपी ओली मात्रै देखिन्छ । हिजो पञ्चायतमा सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनेजस्तै । वा, क्यावत् छ, सर्वहारा कम्युनिस्ट पार्टी । माक्र्सवाद र लेनिनवादको उपहास । बरु अब त ओलीवाद बनाए हुने थ्यो नि ! यो दशौं महाधिवेशनबाट । कमसेकम कम्युनिस्ट सिद्धान्त र विचारको उपहास त हुन्थेन ।

नेतृत्व हत्याउन पूर्वमाओवादी नेताहरु, एमालेकै १० बुँदे भाइहरु अध्यक्ष केपी शर्मा ओली बसेको चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा लाइन लागेका छन् । महाभारतमा जस्तै सकुनीको भूमिमा खेल्ने ओलीवादको आर्शिवादले नेतृत्वमा को पुग्छन् र को गलहत्याइन्छन् यो महाधिवेशनले कसकसलाई नारायणी या राप्तीको किनारामा पुर्याउने हो त्यो त तीन दिन पछि थाहा होला । अध्यक्ष ओली भिष्म पितामह त पक्कै हुँदैन । उनकै कोटरीकाहरु बीच पनि पदको भागबण्डामा रस्साकस्सी गरिरहेका छन् । पार्टीको पदाधिकारी पाउने आशाले रेडलेबल र ब्लुलेबलका ह्वीस्कीको चुस्कीमा डुबेका बेला नेतृत्वको सपना देख्नेहरुले त्यतिमै चित्त बुझाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।


एमाले अध्यक्ष ओलीका निकटस्थ मानिएकाहरु पनि दुई भागमा विभाजित छन् । नयाँ नेतृत्वबारे सर्वसम्मत निर्णय हुने अवस्था देखिन्न । यदी सर्वसम्मत हुन नसके ओली पक्षबाटै दुई प्यानल बन्ने निश्चित छ । एउटा समूहको नेतृत्व सुवास नेम्वाङ र विष्णु पौडेलले गर्नेछन् भने अर्को समूहको नेतृत्व ईश्वर पोखरेल र शङ्कर पोखरेलले गर्नेछन् । तर यी दुवै समूहको अध्यक्षको साझा उम्मेदवार केपी ओली हुन् । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले उम्मेदवार बन्नेछन् । अर्को समूहमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष र शङ्कर पोखरेल महासचिवका उम्मेदवार बन्ने छन् । यस्तो अवस्थामा पार्टीमा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा‘बादल’ र एमालेका असन्तुष्ट दश भाईहरुको पनि ओलीसँग ठूलो बार्गेनिङ चलिरहेको छ । कसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ओलीको टाउको दुखाइ हुन त सक्ला, तर अन्त्यमा उनले पूर्वमाओवादी र असन्तुष्ट दशभाईलाई नखाउँ भने दिनभरीको शिकार, खाउँ त भने कान्छा बाउको अनुहारको अवस्थामा नपुर्याउलान भन्न सकिन्न ।

एमालेको दशौं महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नयाँ अनुहारहरुको दिलचवस्की छ । नेतृत्वमा पुग्न भित्रभित्रै ठूलै धनराशीको पनि खेल भएको स्वयम प्रतिनिधि कार्यकर्ताहरु बताउँछन् । सर्वहारा पार्टीको महाधिवेशन आम चुनावको जस्तो धन र रवाफमा पुगेको छ । एमाले स्वयमले भनिरहेको छ कि यो महाधिवेशनमा ७–८ करोड रुपैयाँभन्दा बढि खर्च हुनेछ । सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीको अधिवेशन हो कि पुँजीवादी नेताहरुको सम्मेलन ? जनताले छुट्याउन सकेका छैनन् ।