काठमाडौं – नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा दर्जनौं कम्पनीको शेयर, डिबेञ्चर र म्युचुअल फण्ड निष्काशन गर्ने काम ठप्प भएको छ । धितोपत्र बोर्डमा विभिन्न २४ कम्पनीका ५ करोड ९३ लाख ५६ हजार कित्ता आइपीओ जारि गर्ने निवेदन रोकिएर बसेका छन् । त्यस्तै विभिन्न ३ कम्पनीको १६ लाख ७९ हजार कित्ता थप शेयर निष्काशन (एफपीओ) गर्ने निवेदनहरु पनि रोकिएका छन् ।

कुल १ अर्ब ५३ करोड ५० लाख एकाई म्युचुअल फण्ड जारी गर्ने १३ वटा कम्पनीका निवेदनहरु पनि बोर्डमा रोकिएका छन् । त्यस्तै विभिन्न ३ बैंकले ल्याउन लागेको ५२ लाख एकाई डिबेञ्चरको फाइल पनि बोर्डमा रोकिएको छ । अरु त अरु, ३ करोड ८ लाख ४३ हजार कित्ता हकप्रद शेयरको फाइलसमेत बोर्डमा रोकिएर बसेको छ ।

यी सबै शेयर, डिबेञ्चर र म्युचुअल फण्डको प्रस्तावित मूल्य करीब २७ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ हुन्छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता निरज गिरि भने सबै प्रक्रिया रोकिएको नभएर ‘ढिलाइ भएको’ बताउँछन् । ‘आइपीओ स्वीकृत गर्ने जिम्मेवारी बोर्डको सञ्चालक समितिले छ’, उनले भने, ‘यही कारण अहिले अध्यक्षको अभावमा प्रक्रियामा ढिलाइ भएको छ ।’

बोर्डको सञ्चालक समितिमा अध्यक्षता गर्ने व्यक्ति नियुक्त हुनै नसक्दा बोर्डका सबै नीतिगत कामहरु रोकिएका छन् । धितोपत्र बजारलाई नियमन गर्ने र नयाँ नीतिगत विषय अघि सार्ने काम अध्यक्षको हो । आइपीओ लगायत महत्वपूर्ण निर्णय गर्ने दायित्व पनि अध्यक्ष र उनको नेतृत्वको सञ्चालक समितिमा निहित छ ।

यसअघि सर्वोत्तम सिमेण्टको शेयरमा ‘इनसाइडर ट्रेडिङ’ गरेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेको छ । उहाँ उक्त सरकारी निर्णय विरुद्ध अदालत पुगेपछि सरकार अहिले ‘पर्ख र हेर’को अवस्थामा छ । ढुङ्गानाको मुद्धा कसरी टुङ्गिन्छ, त्यस पछिमात्रै बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउने मनस्थितिमा अर्थमन्त्री जनार्दन शर्मा रहनुभएको छ । यस्तो अवस्थामा तत्कालै बोर्डमा नयाँ अध्यक्ष आइहाल्ने सम्भावना देखिँदैन । पाइपलाइनमा भएका धितोपत्रहरु पनि अब तत्काल बिक्रीमा आउने सम्भावना त्यसरी नै कमजोर बनेको छ ।