काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । आज बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “आर्थिक पुजरूत्थानमा सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन । राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पूरा गर्ने प्रयास जारी छ ।”

राष्ट्र निर्माण र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको उहाँको भनाइ थियो । नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको उहाँले बताउनुभयो । “हामीसँग साधन, स्रोत, पुँजी, श्रम र बजारको पनि समस्या छैन । समस्या व्यवस्थापन को हो । व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी बढीभन्दा बढी उपयोग गर्ने क्षमताको अभाव नै समस्या हो,” उहाँले भन्नुभयो– “निजी क्षेत्रले यही स्रोत–साधन प्रयोग गरेर सफल भए तर, सार्वजनिक संस्थान सफल हुन सकेनन् ।”