फाइल तस्वीर
काठमाडौं– आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । हिजो ७ दशमलव ९० अङ्कले वृद्धि भएको नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर २ हजार ७ सय ३३ दशमलव १४ अङ्कमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३ दशमलव ९८ अङक, फ्लोट इण्डेक्स २ दशमलव ५२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव १ अङ्क घटेको छ । कारोबारमा आएका २ सय २७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ० दशमलव ९४ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ४ प्रतिशत घटेको छ । विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । नेप्से परिसूचकमा ओरालो लागे पनि हिजो सोमबारको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ४ अर्बभन्दा कमको शेयर कारोबार भएको थियो ।

आज पनि सबैभन्दा बढी मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।