हुम्ला – राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना आगामी बिहिबार अर्थात् यही मङ्सिर ९ गते सकिँदै छ ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६, लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिनुभएको छ ।

सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा रहेका छन् । जिल्लाका ४४ वटा वडा मध्ये, वडा नम्बर–६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरूले गत कात्तिक २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताएका छन् । यसपटकको गणनामा लिमीका १ सय ४७ घरधुरीको विवरण सङ्कलन भएको छ ।


जडीबुटी सङ्कलनले गणकलाई फाराम भर्न समस्या


जिल्लाका अधिकांश नागरिक यति बेला वनमा जडीबुटी सङ्कलन गर्न गएका छन् । यसले उनीहरूको विवरण सङ्कलन तथा फाराम भर्न समस्या भएको प्रमुख भट्टले बताउनुभयो । “अधिकांश नागरिक जडीबुटी सङ्कलनका लागि वनपाखातिर गएका छन्,” उहाँले भन्नुभयो ।

जडीबुटी सङ्कलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चंखेली गाउँपालिका–५ का बासिन्दा यति बेला जडीबुटी सङ्कलन गर्न वन गएका छन् । उनीहरू पुसपछि मात्रै घर फर्किन्छन् । –रासस