युरोप–पछिल्लो सयम युरोपेली देशहरुमा बढ्दोक्रममा देखिको कोरोना भाइरसको सङ्क्रमणप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अत्यन्तै चिन्ताजनक रहेको जनाएको छ । डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हान्स क्लगले सङ्क्रमणलाई नियन्त्रण गर्न तुरुन्त उपयुक्त कदम नउठाए आगामी मार्चसम्म ५ लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

निर्देशक डा.क्लगले केही हदसम्म मास्क लगाउने क्रम बढाउनाले मात्र पनि अहिलेका लागि धेरै मद्दत गर्ने बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण उच्च बिन्दुमा पुगेपछि युरोपका विभिन्न क्षेत्रमा कतै आंशिक त कतै पूर्ण लकडाउनको घोषणा गरिएको छ ।

डा. क्लगका अनुसार जाडोयाम सुरु हुनु, खोप दर पर्याप्त नहुनु र युरोपेली क्षेत्रमा डेल्टा भेरियेन्टको सङ्क्रमक हावी हुनुले सङ्क्रमण गम्भीर स्थितिमा पुगेको छ । डा. क्लगले खोप लगाउने सहित साधारण कोभिड मापदण्डहरु पालन गर्नतर्फ जोड दिन अपिल गरेका छन् । ‘फेरि पनि कोभिड–१९ युरोपेली क्षेत्रमा मृत्युको नम्बर १ कारण बन्न पुगेको छ । हामीलाई भाइरस विरुद्ध लड्न के गर्नुपर्छ भन्ने थाहा छ’ भन्दै उनले खोपलाई अनिवार्य गर्नु अन्तिम विकल्प बन्न सक्ने बताएका छन् ।

शुक्रबार मात्र कोरोनाका कारण पूर्ण लकडाउन गर्ने अष्ट्रिया पहिलो युरोपेली राष्ट्र हो । यसका साथै त्यहाँको सरकारले पहिलोपटक खोप लगाउनैपर्ने कानुन पनि ल्याउन लागेको समाचारमा जनाइएको छ ।

अष्ट्रियन चान्सलर एलेक्जेन्डर स्केलेनबर्गले स्वतन्त्र समाजलाई अचानक बन्दक बनाउनु धेरै कठिन निर्णय भएको तर कोभिडमुक्त हुन खोप एक्लै पर्याप्त नहुने बताएका हुन् । उनले भनेका छन्, ‘यो समस्या खोप लगाएकाहरुका लागि पनि हो । किनकी यदि खोप नलगाएका मानिसहरुका कारण खोप लगाउनेसँग आइसीयुको पहुँच भएन र अचानक उनीहरु पनि बिरामी परे भने यसले सबैलाई प्रभावित गर्नेछ ।’

यता शनिबार नै दशौं हजार मानिसहरु सो निर्णयको विरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । धेरैले खोपको विरुद्धमा ‘अब त अति नै भयो’ भन्ने नारा सहित विरोधमा उत्रिएका थिए ।


सङ्क्रमण बढ्दै जाँदा युरोपका अन्य क्षेत्रमा पनि लकडाउन लगायत कडाइ अपनाउन सुरु गरिएको छ । जस्तै चेक रिपब्लिक र स्लोभेकियाले खोप नलगाएका मानिसहरुमाथि नयाँ नियम लागू गर्न लागेका छन् । उता नेदरल्यान्ड्समा पनि नयाँ कोभिड मापदण्ड जारी गरिएपछि त्यस विरुद्धको आन्दालोनले हिंसात्मक रुप लिएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त राष्ट्रिय आपतकालको अवस्था आइसकेको भनेका छन् तर अर्को लकडाउन जारी नगर्ने उनले बताए ।

बेलायतमा शुक्रबार मात्र ४४ हजार २ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको थियो । बेलायत सरकारले यसको समाधानमा लकडाउन गर्ने कि अरु नै विकल्प अपनाउने भनेर विचार गरिरहेको छ । बीबीसी