प्रतीकात्मक तस्वीर
तुलसीपुर – दाङको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७ सय १० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका– ६ स्थित विद्युत कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर– ५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा–छोरा नै ब्राउनसुगर कारोबारी हुन् । उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि सङ्लग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताउनुभयो । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो ।

उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५ सय ४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर – ६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २ सय ६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ । –रासस