दशरथ रंगशाला, फाइल तस्वीर ।

काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल यूथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अ ङ्कजोडेको हो।

थ्री स्टारको जितमा डिफेण्डर निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री स्टारले तिनै गोल ‘सेट पिस’ मा भएको थियो ।

यता, पहिलो हाफमा च्यासलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । इटालियन मूलका विकास मेराग्लीयाको प्रहार थ्री स्टारका गोलरक्षक प्रीसोले बन्च गरेर बचाएका थिए ।

खेलको २२ औं मिनेटमा निशानले करिब ३० यार्डबाट फ्रिकिकमा आकर्षक गोल गरेका थिए । ४४औं मिनेटमा रिमले हेडमार्फत गोल गर्दै २–० को अग्रता बनाए । खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित पक्का गरे ।

यो जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रह्यो। च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ । थ्री स्टार उपाधि दावेदार टिम पनि हो ।

आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबर सकिएको थियो । लिग अन्तर्गत भोली आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लब भिड्ने छन् । –न्युज कारखाना