फाइल तस्वीर ।

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती अग्रता लिएको थियो । खेलको ६० औं मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

विपक्ष टिमका गोलरक्षक दीप कार्कीको गल्तीको फाइदा उठाउँदै गोल गरेका रुचाल यसवर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए पनि सङ्कटाले आफ्नो अग्रतालाई सुरक्षित बनाउन नसक्दा बराबरीमा चित्त बुझान पर्यो । खेलको ६४ औं मिनेटमा हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङले गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काउँदै १–१ गोलको बराबरीमा ल्याए । खेलमा सङ्कटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए ।

अहिले दशरथ रङ्गशालामा थ्रि स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भैरहेको छ ।

थ्रि स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले आफूहरूको लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्रि स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदानमा प्रतिस्पर्धा गरिरहेको छ ।