कराची – बुधबार बसेको पाकिस्तानको संसद्ले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाउने निर्णय गरेको छ । त्यहाँको संसद्ले पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको हो ।

पाकिस्तानको कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् ।

इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर–इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक पारित हुनुपूर्व नै सम्बन्धित दफा हटाइएको सचिव बोखारीको बताएकी छन् । इस्लामावादमा हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव बोखारीले भनिन्, ‘संविधानको धारा २२७ ले समेत हरेक कानुन शरिया र पवित्र कुरानअनुसार हुनुपर्ने प्रत्याभूत गरेको छ, ‘तसर्थ, हामीले यी (इस्लामिक) मूल्य–मान्यताविपरीत हुने कुनै पनि कानुन पारित गर्न सक्दैनौं ।’

उक्त पत्रकार सम्मेलनमा बोल्दै बलात्कारसम्बन्धी घटनाको स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा ‘प्रतिबलात्कार सेल’ स्थापना गरिने समेत बोखारीले बताइन् । नागरिकको अधिकारी रक्षा गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि आवश्यक कानुन बनाइएको उनको भनाइ थियो ।

सचिव बोखारीका अनुसार कानुन मन्त्रीको मार्गदर्शनबमोजिम एउटा सरकारी समितिले विस्तृत छलफल गरेपछि विधेयकबाट केमिकल कास्ट्रेशनसम्बन्धी दफा हटाइएको थियो । यसअघि अन्तर्राष्ट्रिय समाचार माध्यमले पाकिस्तानमा बलात्कारीलाई औषधि दिएर आजीवन नपुंसक बनाउने विधेयक पारित भएको जनाएका थिए ।

प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको सरकारले संसद्को संयुक्त सत्रबाट झण्डै ३ दर्जन विधेयक हतार–हतार पारित गरेको थियो । यसमध्ये एउटा विधेयक यौन हिंसा तथा बलात्कारसम्बन्धी रहेको छ ।