फाइल तस्वीर ।
काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग –२०७८’ आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपरान्ह ४ः ४५ बजेदेखि ‘ए’ डिभिजनको लिग सुरु भएको हो । आज शुक्रबार सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भैरहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ‘ए डिभिजन लिग’ को खेल फ्लड लाइटमा खेलाएकोे छ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । भोलीबाट दुई खेल खेलाइने एन्फाले जनाएको छ । साविक विजेता मछिन्द्र फुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी उपाधिको मुख्य दाबेदार टिमको रुपमा मानिएको छ । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मी भने पहिलो उपाधिकै खोजीमा रहेको छ ।

यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि नवौं पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने भएको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । नेपाल पुलिस क्लब र सङ्कटा क्लब र एनआरटीले पनि राम्रो स्थानमा लिग सकाउने लक्ष्य राखेको जनाएका छन् ।

लिग सुरु हुनुअघि बिहीबार प्रि–लिग कन्फ्रेन्स आयोजना भएको थियो । जसमा १३ क्लबका प्रशिक्षक र कप्तानले तयारीबारे आ–आफ्नो धारणा राखेका थिए । हिमालयन शेर्पा क्लब भने प्राविधिक कारणले उपस्थित नभएको एन्फाले जनाएको छ । लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।